‘मृतकलाई एउटै खाल्डोमा पुरपार गरिन्थ्यो’
गुगलपाटी संवाददाताखोटाङ– एकै दिन एउटै गाउँका पाँच जनासम्मको मृत्यु हुन्थ्यो । संस्कार अनुसार शव सदगद गर्ने अवस्था थिएन । त्यही भएर मृतकलाई एउटै खाल्डोमा पुरपार गरिन्थ्यो । मलामी जानेलाई नै रोग सर्ने त्रास हुन्थ्यो, कतिलाई त सरे पनि । यो भयवह महामारीको कुरो बिक्रम सम्बत १९९२।०९३ सालतिरको हो ।
त्यो बेला खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुर गोपेनीका प्रायः अधिकांश घरका स्थानीय थाङने ज्वरोले थलिएका थिए । हलहली ज्वरो आउने, रुघा लाग्ने, हातखुट्टा कटकट खाने, खोकी लाग्ने लगायतका लक्षण देखिने रोगले कतिपय परिवारका सबै जना चल्न चट्पटाउन सक्ने अवस्था थिएनन् ।
रोग सर्ने त्रासमा बिरामी भएका घरमा वरपरका छिमेकी जादैनथे । त्यही भएर ओछ्यानमा प्याक–प्याक परेका बिरामीलाई पानी दिने मान्छेधरी हुदैनथ्यो । बिक्रम संवत १९९० सालको भूकम्प गएको दुई वर्षपछि गाउँ–गाउँमा थाङ्ने ज्वरोको महामारी फैलिएको हौंचुर गोपेनीका ९८ वर्षीय बृद्धा झिमामायाँ गुरुङ बताउँछिन् । महामारीकाबेला उनी १४ वर्षकी थिईन् । ‘उहिले थाङ्ने ज्वरोले एउटै घरमा पाँच÷सात जना सिकिस्त बिरामी पर्दा पानी दिने मान्छे हुँदैनथ्यो, रोग सर्छ भनेर त्यो घरमा कोही जाँदैनथे,’ गुरुङले भनिन्, ‘एकै दिनमा पाँच जनासम्मको लास बोकेर जंगल लानुपर्ने भयनाक अवस्था भोगेका थियौँ ।’
उसबेला हिजोआज जस्तो स्वास्थ्य संस्था थिएन । न त औषधि नै थियो । थाङ्ने ज्वरो लागेपछि बिरामीलाई बाँच्न र बचाउन गा¥हो थियो । रोग पचाउन नसक्ने बिरामी सामु काल पर्खनुको विकल्प थिएन । बिमार लागेको तीन दिनदेखि हप्ता दिनभित्र बिरामीको मृत्यु हुने गरेको सो महामारी पार गरेका बृद्धवृद्धा बताउँछन् । हाल विश्वभर देखा परेको कोरोना भाइरस (कोभिड–१९) ले आङ नै सिरिङ बनाउने विगतका महामारीहरु सम्झाइरहेको रावाबेँसी गाउँपालिका–२ खार्पाका वृद्ध कुलबहादुर सार्की बताउँछन् । हालको कोरोनाको लक्षण थाङ्ने ज्वरोसँग झण्डै मिल्दोजुल्दो रहेको बुढापाकाको भनाई छ । थाङ्ने ज्वरोको महामारी कोरोनाभन्दा भयनाक देखिएको उनीहरुको अनुभव छ ।
थाङ्ने ज्वरोले थलिएका बिरामीको उपचारका लागि धामी वा बैध मात्र उनीहरुको घरमा जान्थे । धामी र बैध कालो भेडाको पिसाव पिएर र शरीरमा दलेर बिरामीको नजिक जाने गरेको बुढाकापाले सुनाउने गरेको हौंचुरका स्थानीय मोहन गुरुङले बताए । उनीहरुले बिरामीलाई पनि भेडाको पिसावको मात्रा मिलाएर नियमित पिउन लगाउने र शरीरमा दल्न लगाउने गर्थे । उसबेलाको उपचार नै त्यही थियो । त्यती उपचार गर्दा बाँच्ने बाँच्थे, मर्ने मर्थे । संक्रमणबाट बच्नका लागि मलामीले पनि भेडाको पिसावलाई सेनीटाइजरकारुपमा उपयोग गर्ने गरेका थिए । हौंचुरकै नेपालगाउँमा भने थाङ्ने रोगबाट बच्न गाईको गहुँतलाई उपचारकाक्रममा उपयोग गरिएको स्थानीय वृद्धवृद्धा बताउँछन् । ‘त्योबेला महामारी त सबै ठाउँमा फैलिएको रहेछ,’ मोहन गुरुङले भने, ‘तर उपचार ठाउँ अनुशार फरक–फरक तरिकाले गरिएको रहेछ ।’
वि।सं। १९९० सालको विनासकारी भूकम्पपछि देखिएको थाङ्ने ज्वरोको महामारी केही वर्ष मात्र रहेन । लामो समयसम्मै पिरोलेको स्थानीय बताउँछन् । अलि पछि भने थाङ्ने ज्वरोका बिरामीलाई वैधले नाडीमा स्वस्थ बाख्राको काँचो दुध दलेर पहेँलो सियोले च्वास–च्वास घोचेर रगत आएको ठाउँमा बाख्राकै दुध दलेर उपचार गरेका थिए । गाउँ–गाउँमा नाडी खोपेर औषधोउपचार गर्ने अभियान नै चलाइएको थियो । त्यसरी नाडीमा खोपेर उपचार गरिएका बृद्धबृद्धा अहिले पनि भेटिन्छन् । उनीहरुको नाडीमा सियोले घोपेको चिल्लो दाग अहिले पनि देख्न सकिन्छ । हौंचुर गोपेनीकी बिन्दामायाँ गुरुङ ७ वर्षको उमेरमा वि।सं। २०१७÷०१८ सालतिर नाडीमा खोपेको डोव अहिले पनि देखाउँछिन् ।
स्वास्थ्य संस्था तथा औषधिको विकास र विस्तार हुनु अगाडि स्थानीयले कुष्ठरोग (कोर), झाडापखाला, हैजा, बिफर, दादुरा जस्ता थरिथरिका महामारीको सामना गरे । बेला–बेलामा देखा पर्ने महामारी पार गर्दैआएको मानव जगतले कोरोनाको महामारीलाई पनि सावधानीपुर्वक सामना गर्नुपर्ने उनीहरुको सुझाव छ । विगतका महामारीलाई झैँ विशेष सावधानी अपनाएर कोरोनालाई जित्न सक्नुपर्ने वृद्धवृद्धा बताउँछन् ।
स्रोतः नागरिक