बागमती प्रदेशको प्रदेश सभा बैठक जेठ १२ गते ,भिमफेदी कुलेखानी सुरुङ्ग मार्ग सहलगानीमा
गुगलपाटी संवाददाता
बागमती प्रदेशको प्रदेश सभाको छैटौं बैठक जेठ १२ गते बस्ने भएको छ । प्रदेश सरकारको आज सोमबार बसेको मन्त्रीपरीषदको बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
सरकारले आर्थिक कार्यविधि ऐनमा संशोधन गर्दै अध्यादेश जारी गरेपछि प्रिबजेट छलफल पर धकेलिएको थियो । यसअघि जेठको पहिलो साता प्रिबजेटको छलफलको तयारी गरेको प्रदेशसभा बैठक पनि प्रदेश प्रमुख विष्णु प्रसाईले अध्यादेश प्रमाणीकरण गरेपछि बैठक अनिश्चित भएको थियो ।
प्रदेशको आर्थिक कार्यविधि ऐनको दफा ९ मा पूर्वबजेट छलफल कम्तीमा एक महिनाअघि नै हुनुपर्ने प्रावधान छ । तर सरकारले तयारी गर्न नसकेपछि अध्यादेश जारी गरेर १५ दिनअघि मात्रै ‘ पूर्वबजेट पेस गरे हुने’ गरी कार्य विधि संसोधन गरेको थियो ।कोरोना भाईरस कोभिड १९को त्रासका कारण भौतिक दुरि कायम गरेर बैठक बस्ने तयारी गरिएको छ ।
मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षमा बसेको सोमबारको मन्त्रीपरीषदको बैठकले पोष्ट बहादुर बोगटी भिमफेदी कुलेखानी सुरुङ्ग मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकता परीयोजनाको रुपमा समाबेश गरि संघीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्रि कैलास ढुङ्गेलले वताए ।