कोरोना संक्रमितको मृत्यु भए शव व्यवस्थापन कसरी गर्ने ? सेना र प्रहरीको नमूना अभ्यास
गुगलपाटी संवाददाताबेंसीसहर : लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसुलेसन कक्षबाहिर केही व्यक्ति रुँदै थिए। भित्र एकजना कोरोना संक्रमितको मृत्यु भएको थियो। एकैछिनमा स्वास्थ्य सुरक्षा कवज लगाएका प्रहरीले अस्पताल घेरा हाले। पीपीई लगाएका नेपाली सेनाको टिम आयो र स्प्रे गर्नथाल्यो।
अस्पतालको चारैतिर र आइसुलेन कक्षमा स्प्रे गर्दै सेनाले शव प्लाष्टिकमा बेर्यो। प्रहरीले मुचुल्का उठायो। शव उठाएर शवबहानमा राखियो र बाहिर लगियो। तर, यो घटना काल्पनिक मात्रै थियो ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट कुनै विरामीको मृत्यु भएमा शव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सुरक्षा निकायले गरेको नमूना अभ्यास हो यो। नेपाली सेनाको श्रीजंग गण, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयलगायत सुरक्षा टिम, अस्पतालको सहयोगमा बेंसीसहर स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उक्त अभ्यास गरिएको थियो। शव ब्यवस्थापनमा प्रहरी र श्री जंग गणका ‘डेड बडी म्यानेजमेन्ट टिम’ खटिने भएको छ।
अभ्यासमा अस्पतालको आइसोलेशन वार्डमा कोरोना लागेका व्यक्तिको मृत्यु भएपछि स्वास्थ्य र सुरक्षामा खटिने दुवै पक्षले व्यक्तिगत सुरक्षालाई उच्च सतकर्ता अपनाई मृत शरीरको व्यवस्थापन गरिएको कुरा देखाइएको थियो। कोभिडबाट मृत्यु भएका शव व्यवस्थापन कसरी गर्ने भन्ने अन्तराष्ट्रिय मापदण्ड अनुसार अस्पतालमा अभ्यास गराइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कमाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए। यो अभ्यासले कोरोनाबाट कुनै दुखत घटना भैहाले काम गर्न सहज हुने उनले बताए।
जोखिम न्युनिकरणका लागि नेपाल सरकारबाट प्राप्त शव व्यवस्थापन सम्बन्धी कार्यविधि र मापदण्डलाई आधार मानी अभ्यास गरिएको श्रीजंग गणका प्रमुख सेनानी जयराम थापाले बताए। लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा गरिएको शव व्यवस्थापन सम्बन्धी अभ्यासले जिल्लाका सुरक्षा निकाय र स्वास्थ्यकर्मीलाई अबको दिनमा सहज बनाउने बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर एकमहिना अघि कार्यविधि बनाएको थियो।
स्रोतः अन्नपुर्णपोस्ट