प्रदेश सभाको सार्वजनिक लेखा समितिलाई अभिमुखिरण
गुगलपाटी संवाददाता हेटौंडा,५ जेठ३ नम्बर प्रदेश सभाका प्रदेश संसदीय समिति सार्वजनिक लेखा समितिलाई अभिमुखीकरण गरिएको छ । प्रदेश सभा सचिवालयको आयोजना र संसदीय मामिला अध्ययन तथा अनुसन्धान समाजको सहआयोजनामा प्रदेश सार्वजनिक लेखा समितिको काम, कर्तव्य र अधिकार सम्वन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कार्यक्रमको उदघाटन गरेपछि समृद्धीका लागि सुशासन र सुशासनका लागि पारदर्शिता आवश्यक रहेको बताए । ‘सबैभन्दा बढी अनुशासित र पारदर्शी जनप्रतिनिधि हुनै पर्दछ,’ उनले भने ‘नीति, नियम बनाउने ठाउँमा बस्नेहरु आफैं अनुशासित र पारदर्शी नभए परिवर्तन सम्भव छैन ।’
कार्यक्रममा सार्वजनिक लेखा समितिको काम, कर्तव्य तथा अधिकारको बिषयमा पुर्व सचिव सोमबहादुर थापाले, सार्वजनिक लेखा समितिको पृष्ठभुमि र क्षेत्र अधिकार, समिति सञ्चालन र सार्वजनिक लेखा समितिको प्रारम्भिक अनुभवबारे प्रस्तुति गरेका थिए । त्यस्तै पुर्व उप महालेखा परिक्षक खेमप्रसाद दाहालले सार्वजनिक लेखा परिक्षण, महालेखा वार्षिक प्रतिबेदन एवम् महालेखा परिक्षकको कार्यालय र सार्वजनिक लेखा समितिको अन्तर सम्बन्ध बारेमा प्रस्तुति गरेका थिए । त्यस्तै प्रतिनिधि सभाका साँसद विरोध खतिवडाले सार्वजनिक लेखा समितिको सदस्य तथा उपसमितिको संयोजक हुँदाको अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समितीका अनुभवी पुर्व उच्च कर्मचारी अधिकृतहरुले पनि प्रस्तुति गरेका थिए ।
३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले सरकारलाई जनमुखी बनाउन सार्वजनिक लेखा समितिको भुमिका महत्वपूर्ण रहेको बताए । सरकारले गल्ती सुधार्न समितिले रचनात्मक र निर्देशनात्मक सहयोग गर्नुपर्ने बताउँदै उनले लोकतन्त्रमा विपक्षी दलसँगै समितिको सशक्त भुमिका अत्यावश्यक रहेको तर्क गरे ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, सार्वजनिक लेखा समितिका सभापति न्हुक्षे नारायण श्रेष्ठ, सदस्य दिपक निरौलाले प्रदेशको दीर्घकालिन विकास, प्रभावकारि निर्माणका लागि आर्थिक समृद्धी र पारदर्शिता अति आवश्यक रहेको भन्दै त्यसका लागि समितिले बिशेष भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।