कोरोना परीक्षणपछि मात्र काठमाडौं प्रवेश गराउन अनुरोध
गुगलपाटी संवाददाताकाठमाडौं : काठमाडौं महानगरपालिकाले बाहिरबाट आउने मानिसलाई कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र काठमाडौं छिर्न दिन गृहमन्त्रालयलाई अनुरोध गरेको छ । महानगरपालिकाको नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
महनगरपालिकले अत्यावश्यक काम परेर काठमाडौं आउनु परेमा कोरोना परीक्षण गरेर मात्रै प्रवेश गराउने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको महानगरकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लकडाउनको बेलामा बिनाअनुमति उपत्यका प्रवेश गर्ने र सहयोग गर्नेलाई समेत कार्वाही गर्न गृहमन्त्रालयसँग अनुरोध गरिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।
‘लकडाउनको उलंघन गरी अनुमति नलिइ लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाईसमेत उच्च निगरानी गरी कानुन बमोजिम कार्वाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई आग्रह गरेका छौँ,’ प्रवक्ता डंगोलले भने ।
त्यस्तै विज्ञप्तिमा अत्यावश्यक कामको लागि काठमाडौं प्रवेश गर्न संघीय मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरुबाट जारी अनुमतिपत्र ९पास० बाट काठमाडौं प्रवेश गर्ने व्यक्तिको विवरण राख्न पनि अनुरोध गरिएको छ । पास जारी गर्दा नै निजहरु काठमाडौंमा आइ बसोबास गर्ने पालिका, वडा, टोल, सम्पर्क फोन नं। र घरधनीको नामसहितको विवरण लिनुपर्ने र सो विवरण काठमाडौं महानगरपालिकाले सम्बन्धित कार्यालयलाई उपलब्ध गराउनु पर्ने महानगरको निर्णयमा उल्लेख गरिएको छ ।
यस्तै काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णयसमेत महानगरले गरेको छ ।
कोभिड–१९ को संक्रमणको विस्तारलाई प्रभावकारी ढंगले रोकथाम गर्न अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरसको परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको प्रवक्ता डंगोलले बताए ।