औषधिको कन्टेनरमा गुट्खा, प्रहरीकै मिलेमतोमा छाडीयो

गुगलपाटी संवाददाता
१२ जेष्ठ २०७७ ०४:१५

लकडाउनको अवधिमा गाडिमा औषधि ढुवानी लेखिएको स्टिकर टाँसेर सुर्तिजन्य गुट्खा र रजनीगन्धा ओसार पसार गर्ने पशुपति ट्रान्सपोट कम्पनीले संचालन गरेको ना ३ ख ४७८५ नम्वरको कन्टेनर ट्रकलाई मकवानपुर प्रहरीले पक्राउ गरी बरामदी मुचुल्का उठाएर त्यसै छाडिदिएको छ ।
मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सुशील सिंह राठोेरको निर्देशनमा काठमाडौँबाट राजविराजतर्फ जाँदै गरेको कन्टेनर छोडिएको हो । मकवानपुर प्रहरीकै मिलेमतोमा औषधी ढुवानी भन्दै साँढे १७ लाख बराबरको सुर्तिजन्य गुट्खा ढुवानी गरेको ट्रक छोडिएको हो ।


बरामदी मुचुल्का तयार भइसकेको अवस्थामा अनुसन्धान प्रकृया अघि बढाउनुपर्ने हुन्छ । अनुसन्धानले निर्दोष ठहरिएमा जो जे गर्नुपर्ने हो कानून अनुसार गरिनुपर्ने हुन्छ तर चेक पोइन्टभन्दा केहि माथी कन्टेनर रोकेर बार्गेनिङगरी कुरा नमिल्दा समातेर आर्थिक चलखेलका कारण मकवानपुरका एसपी राठौरले पदीय दुरुपयोग गरी कन्टनेर छोडिदिएको श्रोतले वताएको छ ।
अत्यावश्यक सामग्री ओसारपसार गर्नेबाहेक कुनै पनि सवारी साधन नचलाउन र चल्न नदिन गृह मन्त्रालयले निर्देशननै जारी गरेको छ । अत्यावश्यक सामग्री बाहेक कुनै पनि सामग्री ओसार पसार गर्न पनि पाइदैन ।
शनिबार विहान हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित चुरेचौतारामा रहेको सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयूक्त चेकपोष्ट पार गरेको कन्टेनरलाई बिषेश सुराकीका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुशवाहाको कमाण्डमा खटिएको प्रहरीटोलीले पक्राउ गरेको थियो ।
प्रहरीले आवश्यक चेकजाँच गर्दा औषधी ढुवानी लेखेको गाडिमा गुड्खा भेटिएपछि प्रहरीले गुड्खासहितको कन्टेनर नियन्त्रणमा लिएर पत्रकारहरु,जनप्रतिनिधि,सामुदायीक प्रहरीका प्रतिनिधि,उपभोक्ता अधिकारकर्मी बोलाएर उक्त घटना सार्वजनिकसमेत गरेको थियो ।
प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ का अध्यक्ष लक्ष्मण भण्डारी सहित मकवानपुरका पत्रकार र नागरिक अगुवाहरुसमेतको सहभागितामा बरामदी मुचुल्का समेत उठाएर आवश्यक कारबाहीको लागि प्रक्रिया अघि बढाएको थियो ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता सुजन पाठकले मकवानपुरका एसपी सुशील सिंह राठौरको निर्देशनमा उक्त गाडि छोडेको स्वीकारगर्दे, आन्तरिक राजस्व कार्यालय, हेटौंडाले विलविजक ठीक रहेको बताएपछि कन्टेनर छोडेको वताए ।
तर आन्तरिक राजस्व कार्यालय, मकवानपुरका प्रमुख कर अधिकृत सन्त ढकालले एलिना टेड्रिङ,काठमान्डौले आयात गरेको उक्त पानपराग गुट्खाकोे विल विजक चेकगर्दा विलविजक ठीक रहेको बताएको र कन्टेनर छाड्न आदेश नदिएको र प्रहरीलाई आदेश दिन पनि नमिल्ने बताउनु भयो ।
केहीदिन अघि मकवानपुर प्रहरीले तराईबाट पशुका लागि ल्याईएको पराल अत्यावश्यक भित्र नपर्ने भन्दै रातोमाटे चेकपोष्टबाट फिर्ता गर्दा प्रहरीले छाडेको सुर्तीजन्यवस्तु भने कसरी अत्यावश्यक भित्र प¥र्यो मकवानपुर प्रहरी माथि नै प्रश्न उठेको छ ।