कोरोना संक्रमणबाट मर्नेको संख्या ५ पुग्यो

गुगलपाटी संवाददाता
१४ जेष्ठ २०७७ १७:००

कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।ललितपुर महानगरपालिका वडा नम्बर २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भए संगै मृतकको संख्या बढेको हो ।
किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो । सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो ।
भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । तर बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा बिरामीको मृत्यू भएको र राती ८ बजे रिपोर्ट पोजेटिभ आएको किष्टमा कार्यरत एक चिकित्सकले वताए ।
ती चिकित्सकका अनुसार, कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ ।
र्मतकको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकीरहेको छ ।