कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब बजेट

गुगलपाटी संवाददाता
१५ जेष्ठ २०७७ ११:३३

काठमाडौँ — कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि आवश्यक औषधि, उपकरण तथा उपचारको लागि सरकारे बजेटमा ६ अर्ब रुपैयाँ छुट्याएको छ । बिहीबार आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोडको बजेट प्रस्तुत गरेका छन् । उनले यो वर्ष स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिने बताएका छन् ।

कोरोनाको उपचार गर्ने चिकित्सक तथा प्रयोगशालामा काम गर्नेलाई प्रोत्साहन भत्ता, कोरोनालगायत अरु संक्रामक रोगका लागि काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ५ लाखसम्मको निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको उनले बताएका छन् ।

आगामी वर्ष काठमाडौं उपत्यकामा ३०० बेड छुट्टै सरुवा रोग अस्पताल निर्माणको लागि पनि बजेट छुट्याइएको बताए । काठमाडौं उपत्यका र प्रदेश राजधानीमा थप २५० शैयाको आइसियु बेड निर्माणको साथै र सबै प्रदेश राजधानीमा ५० शैय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिनेछ । पोखराको गण्डकी, विराटनगरको कोसी, नेपालगन्जको भेरी, सुर्खेतको सुर्खेत र कैलालीको सेती अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाइने पनि उनले बजेट भाषणमा बताएका छन् ।