बाम सरकारको नजर बजारमा, गुणस्तरहिन उत्पादन गर्नेलाई पाँच लाख जरिवाना र कैद

गुगलपाटी संवाददाता हेटौंडा,६ जेठ
६ जेष्ठ २०७५ १४:००

आउँदो भदौदेखि गुणस्तरहिन र म्याद नाघेको खाद्यबस्तु बिक्री गर्ने उद्योगी ब्यवसायीलाई पाँच लाख जरिवाना र कैद सजाँय हुने भएको छ । यस अघि खाद्य ऐन अनुसार सामान्य जरिवाना गरेर छाडिने गरेको थियो ।
यस सम्बन्धि मुद्धा हेर्दै आएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख राज कुमार रिजालले फौजदारी कुसुर ऐन २०७४ अनुसार भदौदेखि कडा रुपमा कार्यालय प्रस्तुत हुने बताए । आईतबार कार्यालयमा भएको पत्रकार सम्मलेनमा उनले भने, ‘यस अघि अखाद्य बस्तु उत्पादन बितरण र म्याद नाघेका बस्तु बितरण गर्नेलाई सामान्य जरिवान मात्र गरिन्थ्यो अब ऐन संसोधन भएर आएकाले हामी सोही अनुसार अघि बढ्छौं ।’
कार्यालयले चालु आर्थिक वर्षको बैशाख अन्तिमसम्म ६९ उद्योग बिरुद्ध दायर गरेको छ । गुणस्तरहिन र म्याद नाघेको खाद्यबस्तु बिक्री गर्ने ती उद्योगहरु बिरुद्ध चालु आर्थिक वर्ष ०७४/७५ को बैशाख अन्तिमसम्ममा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा मुद्धा दायर गरिएको हो ।
कार्यालयका प्रमुख रिजालले चार सय ७२ वटा खाद्य नमूना संकलन गरि प्रयोगशालामा परीक्षण गर्दा ५४ वटा नमुनाहरु प्रतिकुल पाइएकोले जानकारी दिए । गत वर्ष ४० वटा मात्रै मुद्धा दर्ता भएको थियो । ‘यस वर्ष प्रतिकुल नमुना पाएकामध्ये अधिकांस मुद्धा दर्ता भईसकेका छन् भने बाँकी अघिल्लो वर्षका मुद्धाहरु सरेर आएका छन्’, रिजालले भने ।
सबैभन्दा बढि कार्यालयले वनस्पति घ्यु र दुधमा उद्योग बिरुद्ध मुद्धा दायर गरेको छ । घ्युमा १९, दुधमा आठ, दानामा तीन, पानीमा चार, फलफुलजन्यमा चार वटा उद्योग माथी मुद्धा चलाइएको कार्यालयले जनाएको छ ।
कार्यालया खाद्य निरीक्षक अनुप हलुवाईले मकवानपुरमा २७ वटा, सर्लाहीमा आठ वटा, सिन्धुलीमा तीन रौतहटमा तीन वटा बारामा १९ र पर्सामा नौ वटा मुद्दा दायर गरिएको बताए ।