नेपाली भूमिमै प्रवेश गरेर भारतीय सुरक्षाकर्मीले भत्काए सडक
गुगलपाटी संवाददातावीरगन्ज — निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि प्रयोगमा नआएको पुल सञ्चालनका लागि निर्माण गरिएको सडक भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरेर भत्काएका छन् । पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालनका लागि तीन दिन अगाडिमात्र कुलो पुरेर सडक बनाइएको थियो ।
बिहीबार साँझ भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काएका हुन् । भारतीयले सडक भत्काइरहेको थाहा पाएपछि ठोरीवासी भेला भएर विरोध गरेका थिए । केही समयको भनाभन पछि भारतीय प्रहरी र नागरिक फर्केका थिए । भत्किएको सडकमा नेपाली पक्षले पुन माटो पुरेका छन् ।
ठोरी गाउँपालिका २ का अध्यक्ष किशोर तमाङले सडक भत्काएको खबर पाएर पुलमा पुग्दा त्यहाँ वर्दीमै रहेका भारतीय सुरक्षाकर्मीको रोहवरमा भारतीय नागरिकले सडक भत्काइरहेको बताए । ‘नेपाली भूमिमा निर्माण गरिएको सडक किन भत्काएको भनी स्थानीयले प्रतिकार गरेपछि भारतीयहरु फर्किए,’ उनले भने ।
हुलाकी सडक र पुलबीचको कुलो पुरिएकाले त्यसलाई खोल्न आएको भारतीय पक्षको भनाई छ । ‘हुलाकी सडक र पुलबीचको एउटा कुलो पुरिए पनि भारतमा पानीको बहाव रोकिएको छैन्,’ वडा अध्यक्ष तमाङले भने, ‘तीनवटा कुलोमध्ये एउटा कुलोमात्र नेपालीले प्रयोग गर्दै आएका छन् । दुइटा कुलो भारततर्फ जान्थ्यो, पुल सञ्चालनका लागि एउटा कुलो पुरिए पनि भारततर्फ अझै एउटा कुलोमा पानी बगिरहेको छ ।’
भारतीयको अवरोधकै कारण पुल निर्माण सम्पन्न भएको २ वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन । हुलाकी सडक र पुलबीचको कुलोमा सडक नबनाउन्जेल पुल प्रयोगमा ल्याउने अवस्था नरहेको वडा अध्यक्ष तामाङको दाबी छ । बिहीबार साँझ सडक भत्काउन आएका भारतीय सुरक्षाकर्मीले पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर आएको ठोरीवासीलाई बताएका थिए ।
शुक्रबार बिहान वडा एक, दुई र तीनका जनप्रतिनिधि र स्थानीयको भेलाले प्रजिअलाई स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन आग्रह गरेको छ । ‘सधैभरि त्यही कुलोको कुरा लिएर ठोरीबासीले अझै कति दिन पुल प्रयोग नगर्ने वर्षातको बेला वडा २ र ३ को सम्पर्क विच्छेद हुन्छ, एम्बुलेन्ससमेत आउन सक्दैन् । पोहोर एम्बुलेन्स आउन नसक्दा सुत्केरीको मृत्यु भयो,’ वडा अध्यक्ष तामाङले भने, ‘सहज वातावरण होस् भन्ने चाहेका छौ, सीडीओ साहेबले कुन हिसाबले भारतीयलाई सडक भत्काउन सहमित दिएका हन् रु स्थलगत आएर समस्या सुल्झाउनु पर्यो ।’
यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई पटकपटक सम्पर्क गर्दा पनि सम्पर्कमा आएनन् । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ठोरीको ठुटे खोला पुल सञ्चालनको विषयमा दुबै पक्षबीच छलफल भइरहेको बताए । ‘भारतीय महावाणिज्य दूतावासका कर्मचारीसँग छलफल भइरहेको छ,’ बस्नेतले भने, ‘आपसी सहमतिमा टुंगाइन्छ ।’
२०७५ जेठमा ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा एक सय दुई मिटर लम्बाईको पुल निर्माण भएको थियो । हुलाकी राजमार्गमा पर्ने पुल निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि भारतीय पक्षको हस्तक्षेपका कारण प्रयोगमा ल्याएन सकिएको थिएन । गत जेठ १० मा जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने, गाउँपालिका उपप्रमुख, तीन वडाका जनप्रतिनिधि लगायतको सर्वदलीय बैठकले ठुटे खोलाको पुल सञ्चालनमा ल्याउने सहमति गरेको थियो ।
ठुटे खोलामा पुल निर्माण गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो । नेपाल–भारत सीमा नजिकै रहेको ठुटे खोलामा पुल निर्माणका लागि २०६७ सालमा सर्वेक्षण गरिँदा एसएसबीले भारतीय भूमि भन्दै अवरोध गरेको थियो । जसले गर्दा सात वर्षसम्म पुलको निर्माण सुरु नै हुन सकेको थिएन । २०७४ बैशाखमा दुवै देशका सीमा अधिकारीबीच भएको वार्तामा ठोरीको सीमा विवादमा सहमित भएपछि पहिले सर्वे गरिएकै स्थानमा पुल निर्माण सुरु भएको थियो ।
स्रोतः कान्तिपुर