सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण
गुगलपाटी संवाददाताराजविराज — सप्तरी जिल्लामा एक महिलासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । शनिबार थपिएकामध्ये सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए । शनिबार बिहानसम्म जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । तर जिल्लामा संक्रमितलाई राख्न आइसोलेसन कक्षको भने अभाव छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जनालाई राखिएको छ । बाँकी संक्रमितलाई समबन्धित पालिकाकै क्वारेन्टाइनमै राखिँदा अन्यमा पनि कोरोना संक्रमण फैलिने हो कि भन्ने चुनौती थपिएको छ । शनिबार साँझसम्म नयाँ ठाउँमा आइसोलेसन कक्ष बनाउने गरी तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए ।