स्याङ्जामा थप २ र तनहुँमा एक जनामा कोरोना संक्रमण
गुगलपाटी संवाददातापोखरा — गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर परीक्षणमा स्याङ्जाका २ र तनहुँका एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
तनहुँमा भने पहिलोपटक कोरोना संक्रमण देखिएको हो । प्रदेशका बागलुङ, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी र लमजुङमा यसअघि कोरोना संक्रमित भेटिएका थिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भइ सोही ठाउँमा क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । यसैगरी तनहुँको रिसिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदबिन्दु शर्माले बताएका छन ।
यसैबीच बागलुङका १९ र ६५ वर्षका दुई महिला र लमजुङका ३ वर्षीय बालक भने उपचारपछि निको भएर घर फर्किएका छन । बागलुङमा ८, स्याङजामा ७, पूर्वी नवलपरासीमा ६ र म्याग्दी, तनहुँ र लमजुङका एकएक जनामा कोरोना संक्रमण भेटिएको हो । पूर्वी नवलपरासीका ६ जनाको चितवनमा उपचार भइरहेको छ । संक्रमितमा लमजुङका एक बालकबाहेक सबै भारतलगायत विदेशबाट आएकाहरु हुन् ।