नेपालबाट फर्किएकालाई भारत प्रवेशमा रोक
गुगलपाटी संवाददाताकाँकडभिट्टा — भारतले मेचीपारि अलपत्र नेपालीलाई ‘चोर बाटो’ बाट पठाइरहेको छ । तर, नेपालबाट जाने भारतीय नागरिकलाई भने प्रवेशमा रोक लगाएको छ । दुई दिनअघि प्रहरीको सहयोगमा १७ भारतीयलाई मेचीपारि पठाउन लागिएको थियो । तर, पानीट्यांकीमा रहेका प्रहरीले प्रवेश नदिएपछि ती पुनः नेपाल फर्किए ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले तीन दिनअघि १७ जना भारतीयलाई प्रवेश गराउन पानीट्यांकीको स्थानीय प्रशासनँग आग्रह गरेको थियो ।
भारतले आफ्नै नागरिकलाई प्रवेशमा रोक लगाएपछि पूर्वी नाका काँकडभिट्टामा भीड जम्मा भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले भारतीय नागरिकको भीड बढ्न थाल्दा नाकामा समस्या पैदा भएको बताए । ‘भारतीयहरुको भीड बढ्याबढ्यै छ’, उनले भने, ‘भारतीय सुरक्षा संयन्त्रले तत्काल प्रवेश दिन नसकिने भनेको छ ।’
डीएसपी पोख्रेलका अनुसार भारतको पश्चिम बंगाल राज्य सरकारले क्वारेन्टाइनलगायतका पूर्वाधार निर्माण नभएको भन्दै तत्काल आफ्ना नागरिकलाई प्रवेश गराउन नसकिने भएकाले नेपालतिरै रोकेर राखिदिन आग्रह गरेको छ । केही समयअघिको आँधीका कारण बंगालमा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । डीएसपी पोख्रेलले भने,‘भारतले मान्छे नपठाउनु भनेको छ, तर भारत जान पाइन्छ भनेर नाकामा भारतीयहरुको भीड सुरु भइसकेको छ ।’ भारतले आफ्नो देशमा रहेका नेपालीहरुलाई भने दैनिक चोर नाकाबाट नेपाल पठाइरहेको छ ।
डीएसपी पोख्रेलले भारतीयहरुको भीडले काँकडभिट्टा बसपार्क क्षेत्र अस्तव्यस्त बन्दै गएको बताए । उनीहरुलाई सुरक्षित ढंगले राख्ने पूर्वाधारसमेत छैन । ‘भारतीयहरुलाई राख्न मेचीनगरले सेल्टर निर्माण गर्न जरुरी देखिन्छ’, डीएसपीले भने, ‘नत्र बजार नै अस्तव्यस्त हुने देखिन्छ ।’
प्रहरी स्रोतका अनुसार नेपालका विभिन्न इँटा कारखानामा कार्यरत २० हजारभन्दा बढी भारतीय नागरिक पूर्वी नाकाबाट भारत फर्कंदैछन् । वर्षायाम सुरु भएसँगै इँटाभट्टाहरु धमाधम बन्द हुन थालेपछि ती श्रमिकहरु घर फर्किंदै छन् । तर, भारतले प्रवेशमा रोक लगाइरहेका कारण समस्या भएको हो । ‘२० हजार भारतीय आएर थुप्रिए भने के होला अवस्था’, डीएसपीले भने, ‘यसवारे स्थानीय पालिका र प्रदेश सरकारको ध्यान जान जरुरी छ ।’
काँकडभिट्टा बसपार्क क्षेत्रमा अहिले पनि ३ सय जति भारतीय छन् । उनीहरु अधिकांश इँटा कारखानाका श्रमिक छन् ।