स्वर्गीय छोरीको स्मृतिमा उत्कृष्ट विद्यार्थी पुरस्कार कोष स्थापना

गुगलपाटी संवाददाता मकवानपुर, ७ जेठ
७ जेष्ठ २०७५ ०७:४४

मकवानपुरको बकैया गाउँपालिका निवासी स्वर्गीय सुमिना थिङको स्मृतिमा उत्कृष्ट विद्यार्थी पुरस्कार कोष स्थापना गरिएको छ । उनका अभिभावकले सुमिना बचाउ अभियानका सहयोगीहरुसँगको सहयोगमा आफ्नी स्वर्गीय छोरीले अध्ययन गर्ने गरेको विद्यालय कर्मप्राप्ति मावि (बकैया–५) का विद्यार्थीका लागि छोरीको स्मृतिमा ‘स्वर्गीय सुमिना स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार कोष’ को स्थापना गरेका हुन् ।

वि.सं. २०७३ सालदेखि नै बोन क्यान्सरबाट पिडीत साविक छतिवन गाविस वडा नम्बर ८ हाल बकैया गाउँपालिका वडा नम्बर ५ कर्मचुली निवासी निरु थिङका १८ वर्षीया छोरी छोइसाङ (सुमिना) थिङको उपचारको लागि करिब २० देखि २४ लाख रुपैयाँ सम्म लाग्ने अनुमान डाक्टरहरुले गरेका थिए । त्यस समयमा काठमाडौँको सिविल निजामति कर्मचारी अस्पताल नयाँबानेश्वरमा उनको उपचार भइरहेको थियो ।

उपचारमा खटिएका डाक्टर अनुसार ब्लड क्यन्सर भएको हुनाले हरेक हप्ता रगत चढाईरहनु परेको र ६ महिना सम्म किमो थेरापीबाट रोग कन्ट्रोल गरि बोन टान्सफर गर्नुपर्ने बताएका थिए । ११ कक्षामा पढ्दै गरेकी उनले आफ्नो पिडालाई दर्शाउँदै स्वईच्छिक सहयोगका लागि अपिल गरेकी थिईन् । उनको सहयोगका लागि स्वदेश तथा विदेशमा समेत विभिन्न सहयोग अभियानहरु चलाइएका थिए । विदेशमा ‘मकवानपुर छतिवन सेवा समाज दोहा कतार’ ले राम राना मगरको संयोजकत्व तथा मकवानपुरमा समेत तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष चन्द्र घलान र सचिव दिलबहादुर लामासहितको टोली सहयोग संकलनका लागि जुटेका थिए । साथै अन्य सहयोगी हातहरु समेत उनको उपचारको लागि अग्रसर भएका थिए । तर बोन ट्रान्स्फर अगावै उनको २०७५ बैशाखमा मृत्यू भएको थियो ।

उनै स्वर्गीय सुमिनाको स्मृतिमा कर्मप्राप्ति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल सिगारको अध्यक्षतामा बैठक बसी पुरस्कार कोषको स्थापना गरिएको हो । बैठकले स्वर्गीय सुमिनाका बुवा निरु थिङ र आमा आशा थिङ संरक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिगार संयोजक रहने गरि ११ सदस्यीय पुरस्कार कोष संचालक समिति समेत गठन गरेको छ । समितिको सचिवमा विद्यालयका प्रअ चन्द्रप्रसाद देवकोटा रहेका छन् भने सदस्यहरुमा लोकेन्द्र माझी, युवराज थापा, हिमाल लुङ्वा, हरिशरण थापा, सुबोध घलान, राम रानामगर, अनिल विश्वकर्मा, प्रकाश वाईबा र बालकृष्ण तिमल्सिना रहेका छन् ।

स्वर्गीय सुमिनाले कक्षा १० सम्म अध्ययन गरेकी विद्यालय कर्मप्राप्ति माविको वार्षिक परिक्षामा सबैभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीलाई विद्यालयको वार्षिक भेलामा उक्त पुरस्कार दिने बैठकले निर्णय गरेको छ । तत्कालका लागि ‘मकवानपुर छतिवन सेवा समाज दोहा कतार’ का राम राना मगरको संयोजकत्वमा संचालित ‘सुमिना बचाउ अभियान’ मा संकलन भएको २५ हजार रुपैयाँ, स्वर्गीय सुमिनाको बुवाआमाबाट १५ हजार रुपैयाँ र विद्यालय व्यवस्थापन समितिबाट १० हजार गरि ५० हजारको कोष निर्माण गर्ने निर्णय गरिएको छ । साथै कोषका लागि संकलन भएको रकमलाई स्थानीय ‘कर्मप्राप्ति बचत तथा ऋण सहकारी संस्था’ मा संरक्षक थिङ र विव्यस अध्यक्ष सिगारको संयुक्त खातामा मुद्धती बचत गरिने निर्णय समेत भएको छ ।

स्वर्गीय सुमिनाका बुवा निरु थिङले पुरस्कार कोष गरिब, जेहेन्दार र उत्कृष्ट अंक ल्याउने विद्यार्थीले पाउन् भन्ने सोच रहेको बताएका छन् । ‘छोरीको नाममा केही सहयोग गर्न पाउँदा मन खुशी भएको छ ,’ उनले भने ‘छोरीको नाममा स्थापना भएको कोषले पक्कै पनि कसैको सन्तानलाई केही राहत दिलाउन सक्छ भन्ने सोचेको छु ।’