क्षमता भन्दा बढी यात्रु बोकेर ट्राफिक कै अघि गुड्छ, गाडी
देवराज पन्त हेटौंडामकवानपुरको सदरमुकाम तथा ३ नम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडाबाट चल्ने अधिकांश भाडाका माईक्रो तथा म्याजिकहरुले क्षमता भन्दा झण्डै दोब्बर यात्रु ओसारिरहे पाइएको छ ।
हेटौंडा बजारबाट उपमहानगरपालिकाकै कमाने, नागस्वती, पश्चिम रजैया, मनहरीलगायतका स्थानहरुमा चल्ने यी सवारीहरुले क्षमता भन्दा बढी यात्रु चढाउने गरेका हुन् । नियमानुसार म्याजिकमा चालक सहित ८ जना र माइक्रोमा चालकसहित १२ जनामात्र चढाउन पाईने सवारी ब्लुबुकमा उल्लेख नै गरिएको छ ।तर, धेरै जसो सवारीहरुले कम्पनीले सवारीको क्षमता अनुसार बनाएर पठाएको सीटलाई मोडिफाई गरि म्याजिकमा १४ जना सम्म र माईक्रोमा १८ जनासम्म राख्न मिल्ने गरी स्थानीय वर्कशपहरुमा सीट बनाउने गरेका छन् ।
सवारी चालकहरु आफै आफ्ना सवारीमा क्षमता भन्दा बढी यात्रु राख्ने गरेको स्वीकार गर्छन् । उनीहरु भन्छन् ट्राफिक प्रहरीलाई दशैमा खसी, तिहार खर्चका रुपमा र प्रहरीका विभिन्न चौकी र प्रहरी बीटलाई मासिक रकम बुझाएकाले कुनै कार्वाही भोग्न नपरेको बताएका छन् । उनीहरु भन्छन्, चौघडा चौकीले त प्रति म्याजिक, अटोसँग २ सयका दरले रकम नै तोकेका छन् । (२ मिनेट ३५ सेकेण्डपछि भ्वाईस छ)
त्यति मात्र होईन प्रहरी तथा ट्राफिक प्रहरीका सवारी विग्रेमा मर्मत खर्च समेत सवारी व्यवसायीका समूह, समितिलाई नै तिराउने र नियम विपरीत भएका कार्यलाई छुट दिने गरेको चालकहरु नै बताउछन् ।यद्यपी नियमन गर्न भन्दै सडकमा ड्युटी गरेका ट्राफिक प्रहरीले आफ्नै अघि यस्ता सवारी गुडेता पनि नदेखे जस्तै गरेकोछ ।यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन अधिकारीले त्यस्तो भएमा कार्वाही हुने बताउछन्, तर ट्राफिक प्रहरीकै अघि त्यस्ता म्याजिक र माइक्रो क्षमता बढी यात्रु बोकेर असुरक्षित यात्रामा रहन्छन् ।क्षमता भन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना हुने उत्तिकै जोखिम हुने गर्छ । त्यतिमात्रै होईन, कथंकदाचित दुर्घटना भै हालेको खण्डमा सवारी ब्लुबुकमा उल्लेख भन्दा बढी यात्रुको औषधि उपचार लगायतको सुविधा नपाउने सम्भावना पनि उत्तिकै रहेको छ ।