कोरोनाबाट महिला र बालवालिका उच्च जोखिममा
निशा गुरुङ हेटौंडाः रोग होस वा लडाई अथवा अभावको सवै भन्दा नकारात्मक प्रभाव महिला र वालवालिकामा हुने गर्छन । कोरोना भाईरसवाट सवै भन्दा प्रभावित महिला र वालवालिका हुने गरेका छन् । त्यसमा पनि गर्भवती र सुत्केरी महिला बढी जोखिममा छन् । कोरोना भाईरसले एक सुत्केरी महिलाको ज्यान लिईसकेको छ । भने गर्भवती महिला कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमण भएर दुई वर्षे वालकले ज्यान गुमाइसकेका छन् । दर्जनौं महिला र वालकावालिकाहरु कोरोना भाईरससंग जुधिरहेका छन् । विश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरस अर्थात् कोभीड—१९ ले सबैलाई त्रसित बनाइरहेको छ । चिनको बुहानबाट सुरु हुदै नेपालसम्म आइपुग्दा नेपालमा १८ सय भन्दा बढिमा संक्रमित भएका छन् भने ८ जनाले ज्यान गुमाइसकेका छन् ।
अस्पतालमा सामान्य अबस्थामा सुत्केरी गराएर घर पठाइएका महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । त्यस्तै जेठ १६ गतेका दिन हेटौंडा—१ की गर्भवती महिलामा पनि कोरोना भाइरस देखिएपछि गर्भवतीहरु त्रसित छन् । गर्भवती भएका महिलाहरु गर्भ परीक्षण गराउन स्वास्थ्य संस्थामा कसरी जाने भनेर चिन्तित हुन थालेका छन् । सुत्केरी पनि अस्पताल जान डराएका छन् । घर बाहिर निस्कन डराउदा महिलाहरू नियमित परीक्षण गराउनवाट बन्चित हुदै आएका छन । अस्पताल लगायत स्वास्थ्य सस्थाहरुवाट नै कोरोना भाईरस सरेको चर्चा चलेकाले अधिकांश गर्भवती महिलाहरु स्वास्थ्य सेवा लिन डराएका हुन् ।
हेटौंडा—१४ कि एक गर्भवती महिलाले गर्भ परीक्षण गराउन स्वास्थ्यचौकी जान डर लागेको बताईन । गर्भवती र सुत्केरी महिलाको प्रतिरोधी क्षमता कमजोर हुने भएकाले उनीहरुलाई कोरोना भाईरसमात्र होइन जुनसुकै रोग पनि चाडै सर्ने गर्छ । यसैगरी हेटौंडा १४ कै एक गर्भवती महिलालाई घाटीको समस्या भैरहेको रहेछ । उनी अस्पताल जान सकेकि छैनन् । अस्पतालमा कोरोना लाग्न सक्ने भएकाले जान डर लागेको वताईन् । गर्भवती भएको बेलामा घरमै वसिरहन पर्दा पनि मानसिक चिन्ता भएको वताईन् । समयमा गर्भ जाँच गर्न नपाउने किनमेलमा कठिनाई तथा आम्दानी नहुदा पोसिलो खानाको अभाव लगायत धेरै समस्याहरु झेल्न बाध्य छन् । लकडाउनबाट उत्पन्न यी समस्या साझा हुन तर गर्भवती अबस्था विशेष अबस्था भएकोले लकडाउनको बढी प्रभाव विपन्न परिवारका गर्भवती र वालवालिकालाई पर्न गएको छ ।
हेटौंडा १४ स्थित मयुरधापमा रहेको मयुरधाप सहरी स्वास्थ केन्द्रमा पनि पहिला जस्तो गर्भवती महिलाहरु गर्भ परीक्षण गर्न आउन छाडेका स्वास्थ्यकर्मी अन्सु लामाले वताईन । गर्भवती महिलाहरु स्वास्थ्य चौकी आउन डराएका छन् उनले भनिन् । कोरोना भाइरसका कारण सबै भन्दा धेरै समस्या गर्भवती र सुत्केरी महिलामा देखिएको छ । यस्तो बेलामा गर्भवतीको स्वास्थ उपचारका लागी छुट्टै स्वास्थ्य संस्थाको व्यवस्था हुन पर्ने उनीहरुको धारणा छ । अहिलेको जस्तो अवस्थामा महिला स्वास्थ स्वंयसेबिका तथा स्वास्थकर्मीहरुले टोल टोलमा गएर गर्भवतीलाई परामर्श दिन जरुरी छ । गर्भवती महिलालाई कुनै समस्या देखिएमा पालिकाले तुरुन्तै स्वस्थ्य सस्थामा पुराएर सेवा दिने व्यवस्था गर्न पर्ने देखिन्छ । गर्भ अवस्था एक जटिल अवस्था भएकोले लकडाउन तथा महामारीको बेलामा उनीहरुले पाउन पर्ने सेवा सुबिधा तथा स्याहारमा कमि आउन दिनु हुदैन ।