हेटौंडामा सेफ हाउस निर्माण

गुगलपाटी संवाददाता
२० जेष्ठ २०७७ १२:३९

हेटौंडा उपमहानगरपालिकाले सेफ हाउस निर्माणको कार्य सुरु गरेको छ । हिंसापीडित महिलालाई उद्दार गरी सुरक्षित राख्न बागमती प्रदेश सरकारसँगको सहकार्यमा उपमहानगरपालिकाले कुल ४० लाख रुपैयाँ लागतमा सेफ हाउस निर्माण गर्न लागेको हो ।
हेटौंडा ११ थानाभर्‍याङमा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मीनाकुमारी लामाले सेफ हाउसको सिलान्यास गरेका हुन । बागमती प्रदेश सरकारले ३० लाख र हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ लागतमा  एक कठ्ठा जमिनमा उपमहानगरपालिकाले निर्माण गर्ने सेफ हाउस ५ कोठे हुने उपमेयर लामाले बताए । सेफ हाउस निर्माण पश्चात हिंसापीडित महिलालाई उद्दार गरी सुरक्षित राख्न समस्या नहुने उपमहानगरपालिकाले जनाएको छ ।