पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

गुगलपाटी संवाददाता
२१ जेष्ठ २०७७ ०७:५१

वीरगन्ज : पर्सा जिल्लामा बुधबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार पर्साको कालीकामाइ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ र सखुवा प्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ गरी ६ जनामा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
ती सबैजना भारतबाट गा‍उँ आएका हुन्।

कालीकामाइ गाउँपालिकाका ५ का १४ वर्षीय बालक, वडा नम्बर १ का ४२ वर्षीय पुरुष, वडा नम्बर २ का ४५ र ३० वर्षीय गरी ४ जना पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरु चारैजना भारतबाट ८ दिन पहिले गाउँ फर्किएपछि गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । कालीकामाइ गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका २० जनाको गत आइतबार स्वाब वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो।

ती मध्ये बुधबार ४ जनाको रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य संख्या प्रमुख यागेन्द्र प्रसाद चौरसीयाले जानकारी दिए। बुधबार नै सखुवा प्रसौनी गाउँपालिकाको देउरवानास्थित क्वारेन्टाइनमा राखिएका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । सखुवा प्रसौनी गाउँपालिका २ का २५ र ४९ वर्षा २ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरले जानकारी दिए ।

भारतको बनारस र लुधियानबाट जेठ १४ गते गाउँ फर्किएका ती दुवैजनालाई त्यहि दिनदेखि देउरवानाको क्वारेन्टाइनमा राखिएको थियो । गा‍उँपालिकाको २ वटा क्वरेन्टाइनमा रहेका ४५ जनाको स्वाब संकलन गरी जेठ १९ गते नारायणी अस्पतालको प्रयोगशालमा पठाइएको थियो ।

ती मध्ये बुधबार २ जनाको रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनीयारले जानकारी दिए । बुधबार संक्रमण पुष्टि भएका ६ जना संक्रमितलाई वीरगन्जको गण्डकस्थित विशेष कोरोना अस्थायी अस्पतालमा ल्याइएको छ ।

यसअघि मङगलबार बेलुकी पनि पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ झौवा गुठीका ३४ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनी पनि भारतको हरियाणाबाट केही दिनअघि गाउँ आएका थिए।उनलाई झौवागुठीस्थित रामप्रितराम स्वरुप चौरसिया माविको क्वारेन्टाइनमा राखिएको थियो ।

पर्सा जिल्लामा संक्रमितको संख्या १ सय १२ पुगेको छ । ती मध्ये ९७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेका छन् ।