चितवन राष्ट्रिय निकुञ्जमा हुर्कंदैछ अर्नाको दोस्रो पुस्ता

गुगलपाटी संवाददाता
२१ जेष्ठ २०७७ ०७:५६

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा रहेका अर्नाले नयाँ पुस्ता हुर्काउँदैछ । तीन वर्षअघि स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको अर्नाको संख्या बढ्न थालेपछि संरक्षणकर्मी खुसी छन् । संरक्षित जातिको रुपमा सुचिकृत अर्नाको स्थानान्तरणपछि चार वटा बच्चा जन्मिएका छन्। निकुञ्जभित्रको हरियालीमा माउसँगैको हुलमा रमाउन थालेका छन् । माउसँग अर्नाका पाडापाडी चर्छन् । सबै एकैसाथ हिँड्छन् र समूहमै बस्छन् ।

निकुञ्जभित्रको पुरानो पदमपुर क्षेत्रमा २०७३ सालमा खुला खोर निर्माण गरी अर्ना ल्याएर राखिएको छ । कोसी टप्पुबाट १२ वटा र सदर चिडियाखानाबाट ३ गरी १५ वटा अर्ना ल्याइएको थियो । चिडियाखानाबाट ल्याइएको सबै अर्ना चार महिनामै मरे । भने २०७४ साउनमा आएको बाढीमा परी थप २ वटा र अर्को एउटा बाघको आक्रमणबाट मरेको थियो।

अहिले १३ वटा अर्ना इन्क्लोजरमा रहेका छन् । अर्नाको नयाँ पुस्ता हुर्किन सफल भएको निकुञ्जले जनाएको थियो । पहिला अर्ना नजोगिएपछि त्यसबेला संरक्षणकर्मी निकै चिन्तित बनेका थिए । दोस्रो पुस्ता हुर्किएसँगै अर्ना स्थानान्तरण कार्य सफल भएको निकुञ्जका सौराहा सेक्टर प्रमुख गोपालबहादुर घिमिरेले बताए ।

२०३० सालमा स्थापनाअघि नै चितवन राष्ट्रिय निकुञ्जबाट अर्ना लोप भइसकेको थियो । सन् १९६१ सम्म चितवनको घना जंगलमा अर्ना पाइन्थ्यो । बासस्थान विनाश भएकै कारण अर्ना लोप भएको हो, उनले भने ,  प्राकृतिक कारणले लोप भएको अर्नाको संख्या बढाउन निकुञ्ज लागिपरेको छ ।

अर्नाका लागि ३० हेक्टर क्षेत्रफलमा इन्क्लोजर बनाइएको उनले बताए । त्यसको वरिपरि सोलार फेन्सिङ गरिएको छ । निकुञ्जले १५ हेक्टर क्षेत्रफलको अर्को इन्क्लोजर बनाउन लागेको छ । घाँस ब्यवस्थापनका लागि विस्तार गर्न लागेको इन्क्लोजरभित्र पाँच वटा पोखरी निमार्ण गरिएको छ । त्यसमा अर्ना आहाल खेल्छन् ।