नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ११ पुग्यो
गुगलपाटी संवाददातानेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
आरडिटी परीक्षणमा नेगेटिभ आएपछि उनी १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए । पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएसँगै उनको पिसिआर परीक्षण भएको थियो ।
पिसिआर परीक्षण भएसँगै उनको कोरोना रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे । कोरोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाउँदै शव व्यवस्थापन गरिन लागिएको बताइएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । यद्यपी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गर्न भने बाँकी छ ।