शुरु भयो हेटौंडामा प्रदेश समन्वय परिषदको बैठक
गुगलपाटी संवाददाता हेटौंडा,७ जेठ
प्रदेश तीनको प्रदेश समन्वय परिषद बैठक शुरु भएको छ ।
सोमबारबाट शुरु भएको बैठकको मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । । कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिहरुको सुविधा मोहप्रति चिन्ता ब्यक्त गरेका छन् । जनताले ठूलो अपेक्षा गरेर जिताएको भन्दै उहाँले सरकारको अनुभूति हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश तीनलाई भ्रष्टाचारमुक्त र शुसासनयुक्त बनाउने अभियानमा साथ दिन पनि पौडेलले जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
उनले संघियतालाई सफल बनाउन स्थानीय सरकारको भुमिका महत्वपूर्ण हुने बताए । उनले प्रदेश सरकारको बजेट कुन आकारको हुने भन्ने विषय अझै अन्योल रहेको समेत बताए । प्रदेश नंबर तीनका सभामुख सानुकुमार श्रेष्ठले विकास र समृद्धिको अभियानमा एकसाथ भएर अघि बढनुपर्ने बताए । प्रमुख प्रतिपक्ष दलका नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बाँनियाले सरकारले सिण्डीकेटको नाउँमा संघसस्था नविकरण नगर्दा ठुलो समस्या भएको बताए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आयोजना गरेको दुई दिने कार्यक्रमा प्रदेशका १३ जिल्ला समन्वय समिति र १ सय १९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुईसय ५० जना बढि छन् । मंगलबार जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख र उपप्रमुखको विभिन्न समूह बनाई जिल्लाहरुमा प्रदेश सरकारले गर्नुपर्ने विकास, निर्माणको योजना तथा कार्यक्रम टुङ्गो लगाईने कार्यतालिका रहेको आयोजकले बताएको छ ।