राक्सिराङको स्वास्थ्य चौकीमा ताजा तरकारी

गुगलपाटी संवाददाता
२३ जेष्ठ २०७७ १२:२९

राक्सिराङ गाउँपालिका ५ स्थित चैनपुरको स्वास्थ्य चौकीले गर्भवती, सुत्केरी र जेष्ठ नागरिकलाइ लक्षित गरी करेसाबारी तयार पारेका थिए । उक्त करेसाबारीमा मौसम अनुसारका तरकारी उत्पादन गरिएका छन् ।
पोषणका दृष्टिले पछाडि परेका चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा कुपोषणको समस्या भोग्दै आएको छ ।
गर्भवती, सुत्केरी तथा गाउँपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिकका लागि निःशुल्क रुपमा ताजा तरकारी प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकीमा तरकारी उत्पादन गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । गाँउपालिकाका दुई स्वास्थ्य चौकीमा करेसाबारी निर्माण गरेको अध्यक्ष मल्लले बताए । करेसाबारीमा अहिले लौका, गोलभेँडा, फर्र्सीलगायत मौसमी तरकारी उत्पादन गरी वितरण गरिरहेको छ । करेसाबारीमा मौसमी तथा बेमौसमी तरकारी बाह्रै महिना तरकारी फलाउने स्वास्थ्यचौकीको योजना छ ।

राक्सिराङ गाउँपालिकामा रहेको अन्य चार वटै स्वास्थ्य चौकीहरूमा पनि करेसाबारी निर्माणका लागि आगामी बजेटमा व्यवस्था गर्न पहल भइरहेको अध्यक्ष मल्लले बताए ।