३३ किलो सुनकाण्ड प्रकरण : मुख्य अभियुक्त गोरे पक्राउ

गुगलपाटी संवाददाता बिराटनगर,८ जेठ
८ जेष्ठ २०७५ ०६:२१

अहिले चर्चाको बिषय बनेको ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।

उनी पक्राउ परेको दाबी गरिएको छ तर यसको आधाकारिक जानकारी भने छानबिन सििमतले दिएको छैन । गोरे पछिल्लो समय भारतमा लुकेर बसेको आशंकामा प्रहरीले निगरानी बढाएको थियो ।मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने योजना समितिको छ ।

माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइगुइ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिआर्इजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् ।

एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।

घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह(सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।

चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ ।प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।

उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।

त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ(११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो ।
हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । उनका परिवारका अधिकांश सदस्य उर्लाबारीबाट हिँडिसकेका छन् ।