वर्षासहित चट्याङको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह

गुगलपाटी संवाददाता
२४ जेष्ठ २०७७ ०८:०४

शनिबार देशका विभिन्न भागमा वर्षासहित चट्याङको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाब दिएको छ ।

विभागले खासगरी बागमती, गण्डकी, प्रदेश १ र प्रदेश २ मा वर्षासहित चट्याङको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन भनेको हो ।

साथै मनसुन पनि सुरु भइनसकेको र प्रि–मनसुन अवधि नै रहेकाले यी क्षेत्रहरूमा असिना तथा उच्च हिमाली भेगमा हिमपातसमेत हुन सक्ने विभागकी मौसमविद् विभूति पाखरेलले जानकारी दिइन् ।

यी क्षेत्रहरमा शनिबार साँझ र राति पानी पर्ने उनले जानकारी दिइन् ।

भारतमा आएको निसर्ग नामको आँधीको प्रभाव त्यहाँ क्रमशः घटिसकेको भए पनि त्यसले सिर्जना गरेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा वर्षा भएको विभागले जनाएको छ ।

अहिले मनसुन सुरु भइनसकेको र मनसुन सुरु हुन अझै केही दिन लाग्ने मौसमविद् पोखरेलले जानकारी दिइन् ।

सामान्यतया नेपालमा मनसुन जुन १० पछिबाट सुरु हुने मानिन्छ । यसपटक पनि एक–दुई दिन तलमाथि पारेर मनसुन सुरु हुने विभागले जनाएको छ ।

मनसुन सुरु भएपछि क्रमशः मूलहरू फुट्ने र देशका अधिकांश ठाउँमा धान रोपाइँ पनि सुरु हुने गर्दछ ।