बैतडीमा १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
गुगलपाटी संवाददाताजिल्ला अस्पताल बैतडीमा कार्यरत १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको हो । स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेपछि तीन दिनदेखि सेवा प्रभावित भएको छ ।
उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडिटी परीक्षण गरिएको थियो । आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वसन्तराज जोशीले जानकारी दिए । यही जेठ २० गते राति शल्यक्रियामार्फत जिल्ला अस्पतालमै बच्चा जन्माएकी दोगडाकेदारकी ती महिलामा बुधबार उच्च ज्वरो देखापरेपछि आरडिटी गरिएको हो । नवजात शिशुको भने आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।
ती महिलाको शल्यक्रियामा संलग्न र अन्य सम्पर्कमा रहेका स्वास्थ्यकर्मीलाई पनि सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको प्रमुख डा। जोशीले बताए । उनले भने, अस्पतालमा आउने अरु बिरामीको जाँच र अरुको सम्पर्कमा नजाने गरी सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौँ, उनले भने, १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्दा सेवा पनि प्रभावित भएको छ, ती महिलाको पिसीआर पोजेटिभ आयो भने झनै समस्या हुने देखिन्छ ।
आरडिटी पोजेटिभ ती महिलाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ । पिसीआर परीक्षणपश्चात मात्रै महिलामा कोरोना भएरनभएको थाहा हुने छ ।
ती महिलालाई जिल्ला अस्पतालकै आइसोलेसनमा राखिएको छ । १९ वर्षीया महिला जेठ १९ गते जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । सामान्यतया ४० हप्तामा बच्चा जन्मिने भए पनि ती महिलालाई ४३ हप्ता भइसक्दासमेत पेटको पानी सुकेर ब्यथा नलाग्ने समस्या रहेको डा। जोशीको भनाइ छ । यसैबीच बैतडीको पाटन नगरपालिकाका ३१ वर्षीय कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।