बैतडीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

गुगलपाटी संवाददाता
२५ जेष्ठ २०७७ ०५:५२

बैतडीको पाटन नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको शनिबार राति मृत्यु भएको छ । भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका पाटन नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले बताए ।

२३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका हुँदै गाउँ पुगेका थिए । शनिबार बिहान ११ बजेदेखि मात्र उनी क्वारेन्टाइनमा बसेका थिए । साँझ एक्कासी बेहोस् भएका उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

मृतकको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

केही दिन अगाडि पनि जिल्लाकै पुरचौर्डी नगरपालिकाकी एक २२ वर्षीया युवतीको क्वारेन्टाइनमै मृत्यु भएको थियो । यसअघि शनिबार बिहानै डोटीको क्‍वारेन्टाइनमा पनि एक युवकको मृत्यु भएको छ ।