एम्बुलेन्सबाट लागुऔषध चरेस बरामद
गुगलपाटी संवाददातासर्लाही प्रहरीले एम्बुलेन्सबाट लागुऔषध चरेस बरामद गरेको छ । आइतबार बिहान ज १ च १४०७ नम्बरको एम्बुलेन्सबाट एक सय ३५ ग्राम चरेस बरामद गरेको हो ।
प्रहरीले शनिबार राति ११ बजे सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित झिलिमिलिया माई मन्दिरनजिकैबाट मलंगवा नगरपालिका–८ निवासी ४० वर्षीय रामदुलार राय आठ किलो चरेससहित पक्राउ गरेको थियो । सोधपुछका क्रममा रायले आफूलाई भारतसम्म पुर्याइदिन भन्दै एम्बुलेन्स चालकले चरेस दिएको बताएका थिए ।
बम
सोही आधारमा प्रहरीले जाँच गर्दा आइतबार बिहान एम्बुलेन्सबाट पनि चरेस बरामद भएको हो । प्रहरीले एम्बुलेन्सचालक मलंगवा नगरपालिका– ३ बस्ने २८ वर्षीय मोहन राय यादव र सोही एम्बुलेन्समा सवार मलंगवा–४ का २४ वर्षीय नथुनी ठाकुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । लकडाउनको समयमा अन्य सवारी सञ्चालन नभएपछि लागुऔषध ओसारपसारमा लामो समयदेखि एम्बुलेन्स प्रयोग भइरहेको सुराकीको आधारमा पक्राउ गरिएको प्रवक्ता कुँवरको भनाइ छ ।
प्रहरीका अनुसार उक्त एम्बुलेन्स लकडाउनको समय अवधिभर लागुऔषध ओसारपसारमा व्यापक प्रयोग भएको थियो । बरामद भएको चरेस कहाँबाट ल्याइएको हो भन्नेबारेमा नखुलेको प्रहरीले जनाएको छ । चरेस भारत लैजान लागेको खुलेको प्रहरी प्रवक्ता कुँवरको भनाइ छ । एम्बुलेन्ससहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
यसैबीच शनिबार बिहान मात्र सर्लाहीको धन्कौलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुईजनालाई पक्राउ गरको थियो । धन्कौल गाउँपालिका– ३ हरकठवास्थित बागमती ड्यामबाट लागुऔषध कोडिन वालरेक्ससहित सर्लाहीको बागमती नगरपालिका–१० सोल्टी बस्ने ३४ वर्षीय अनिल ठकुरी र बरहथवा नगरपालिका–५ हाथिडण्डा बस्ने २२ वर्षीय इन्द्रजित राम पक्राउ परेका हरकठवा प्रहरीले जनाएको हो । पक्राउ परेका उनीहरूको साथबाट एक सय एमएलको कोडिन वालरेक्स दुई सय ६९ बोटल बरामद भएको थियो ।
बलरा नगरपालिकाबाट ज ४ प २०७४ नम्बरको मोटरसाइकलमा बागमती खोलाको ड्याम नै ड्याम बागमती नगरपालिकास्थित सोल्टी आउँदै गरेको उनीहरूको साथबाट उक्त लागुऔषध बरामद भएको हरकठवा प्रहरी चौकीका सब इन्स्पेक्टर श्याम जैसवारले जानकारी दिए । तीनवटा बोरामा लागुऔषध राखेर मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई सुराकीको आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।