नारायणगढ मुग्लिन सडकको बिषयमा गृहमंत्री बादलले दिए यस्तो कडा निर्देशन
गुगलपाटी संवाददाता चितवनगृहमन्त्री रामबहादुर थापा(बादल)ले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताउनुभएको छ ।
सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र भन्न सकिने बताउनुभयो । सो सडकको चौथो पटक समय थप गरी सकिएको छ । पछिल्लो समय पनि जेठ १६ गते सकिँदैछ ।
हालसम्म ८८ दशमलव १४ प्रतिशत मात्र काम सकिएको छ । यो सडक राजधानी जोड्ने लाइफलाइन हो । जिल्लाको शान्ति सुरक्षा मजबुत राख्न निर्देशन दिनुभएका मन्त्री थापाले हावाहुरी र असिना पानीबाट क्षति भएको केरा, मकै र बर्डफ्लुबाट भएको प्रभावका बारेमा जानकारी लिनुभएको थियो । उहाँले विप्लव समूहले आफ्नो गतिविधि देखाइरहेको भन्दै रोक्नका लागि के कस्ता काम भइरहेको छ भन्ने विषयमा जानकारी लिनुभएको थियो ।
गृहमन्त्री थापाले यातायात सिण्डिकेट रोकिएपछिको प्रभाव र समयमा काम नगर्ने ठेकेदारको अवस्थाका बारेमा पनि जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिनुभएको थियो ।
सो क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जिल्लामा हावाहुरी र असिनाबाट भएको क्षति, बर्डफ्लुबाट परेको प्रभाव, विप्लव निकट नेकपाको गतिविधि, आपराधिक गतिविधि, सडक सुरक्षालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, गृहप्रवक्ता रामकृष्ण सुवेदीलगायतको उपस्थिति रहेको थियो ।