मकवानपुरका १६३ जना पत्रकारको कोरोना र दुर्घटना बिमा

गुगलपाटी संवाददाता
२७ जेष्ठ २०७७ ०७:१५

कोरोना त्रासका विच अग्रपंत्तिमा खटिएका पत्रकारको एक लाखको कोरोना विमा र दुई लाख रुपैयाँका दरले दुर्घटना विमा गरिएको छ ।
हेटौंडा  नेपाल पत्रकार महासंघ मकवानपुर साखाले जिल्लाका १ सय ६३ जना पत्रकारको कोरोना र दुर्घटना बिमा गरिदिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा विमा गरिएको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई बिमा पोलेसीको पत्र हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका सहसचिव धर्बेन्द्र दाहाल, कोषाध्यक्ष सुदीप शिवाकोटी लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा मेयर महतले पत्रकारका लागि संस्थागत रुपमा जुनसुकै सहयोग पनि गर्न तयार रहेको वताउनुभयो । कोरोना भाइरस (कोभिड १९) को त्रासका विच पनि अग्रपंत्तिमा खटिएका पत्रकारको एक लाखको कोरोना विमा र दुई लाख रुपैयाँका दरले दुर्घटना विमा गरिएको हो । कोरोना विमा गर्नका लागि पत्रकार महासंघ मकवानपुर साखालाई उपमहानगरपालिकाले एक लाख ५० हजार रुपैयाँ कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गरेको थियो । दुई महिना अगाडी देखिको कोरोना त्रासका कारण सरकारले गरेको लक डाउनको समयमा पनि त्रास बेहोर्दै अग्रपंत्तिमा खटिएका एक सय ६३ जना पत्रकारको कोरोना र दुर्घटना विमा गरिएको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले वताउनुभयो ।
पत्रकार महासंघ मकवानपुरमा सदस्य रहेका एक सय ३ जना र नयाँ सदस्यताका लागि सिफारिस गरिएका ६० जना पत्रकारको विमा गरिएको अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । एक जना पत्रकारको तीन लाख रुपैयाँका दरले विमा गरिएको हो । विमा गरिएका पत्रकारको कोरोना भाइरस पुष्टी भएमा एक लाख रुपैयाँ र दुर्घटनामा परेर कुनै पत्रकार घाइते भएमा २० हजार रुपैयाँ सम्म उपचार खर्च र मृत्यु भएमा दुइलाख रुपैयाँ प्राप्त गर्ने बिमा कम्पनिले जनाएको छ ।
हेटौंडाको एभ्रेष्ट ईन्स्योरेन्स कम्पनि लिमिटेड मार्फत विमा गरिएको हो । कोरोना भाइसको त्रासका विच पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी संगै सञ्चारकर्मी पनि निरन्तर अग्रपंत्तिमा खटिएकाले कोरोना र दुर्घटना विमा गर्नका लागि सहयोग गरिएको मेयर महतले वताउनुभयो । अहिलेको समयमा मिडिया हाउस र पत्रकार पनि संकटमा परेको समयमा स्थानीय सरकारले सहयोग गरेको उहाँले वताउनुभयो । यसअघि हेटौंडा उपमहानगरपालिकाले केही महिना अगाडी पत्रकार महासंघ मकवानपुरले गरेको उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरपालिकाले महासंघको कार्यालयमा पुस्तकालय निर्माण गर्नका लागि सहयोग गरेको थियो ।
कोरोनाको त्रासका बिच पनि अग्रपंतिमा रहेका पत्रकारका लागि पत्रकार महासंघ मकवानपुर साखाले स्वास्थ्य सुरक्षाका सामाग्री, संचार संस्थालाई प्रेस ज्याकेट, लकडाउनका कारण समस्यामा परेका पत्रकारका लागि खाद्यान्नका सामाग्री वितरण गरेको छ ।