चिकित्सक र बिरामीसहित चितवनमा एकैदिन ३० जनामा कोरोना पुष्टि

गुगलपाटी संवाददाता
२७ जेष्ठ २०७७ ०७:३६

चितवन — चिकित्सक र विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीसमेत गरेर चितवनमा सोमबार एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरमा रहेको कोभिड–१९ प्रयोगशालामा भएको कोरोना भाइरसको परीक्षणमा तीनवटा अस्पतालका चार जना बिरामी र दुईजना चिकित्सकमा पनि संक्रमण देखिएको हो । शुक्रबार र शनिबार संकलन भएका ३१० वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाको पनि व्यवस्थापन सम्हालेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सेपेरिटेन्डेन्ट डा। श्रीराम तिवारीले संक्रमित ३० जनामध्ये पाँच जना नवलपुरका र एकजना धादिङका रहेको जानकारी दिए । चितवनका संक्रमितमध्ये सामुदायिक क्वारेन्टाइनमा बसेका १७ जना छन् । भारतबाट आएर माडीमा क्वारेन्टाइनमा बसेका ६ जना र भरतपुर महानगरपालिकको क्वारेन्टाइनमा बसेका ११ जनामा संक्रमण भेटिएको हो ।

संक्रमित चिकित्सकमध्ये एकजना भरतपुरको निजी अस्पतालमा कार्यरत रहेको डा। तिवारीले बताए । अर्का एकजना काठमाडौं बस्ने तर भरतपुर अस्पताल पुगेर परीक्षणका लागि स्वाब संकलन गराएका चिकित्सकमा संक्रमण भेटिएको चितवन स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए । स्वाब संकलन गरेपछि उनी काठमाडौंतिरै लागेको तिवारीको भनाइ छ । अहिले उनी सम्पर्कमा आएका छन् ।

त्यस्तै नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्ष ९आईसीयू०मा उपचार गराइरहेका एक जना बिरामीमा पनि संक्रमण भेटिएको हो । त्यसैगरी चितवनको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका दुई जना र भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका एक जना बिरामीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

‘क्यान्सर अस्पतालका बिरामी पनि स्वाब संकलन गराएर घरै फर्केको भन्ने बुझिएको छ । अर्का एक जना चिकित्सकसँग पनि स्वाब संकलनपछि घरै गएको र अहिले सम्पर्कमा आएको भन्ने छ,’ स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले भने । यसका साथै क्वारेन्टाइनमा नरहेकी भरतपुर–४ का एक जना महिलामा पनि संक्रमण भेटिएको उनले बताए । यसअघि चितवनका मात्रै संक्रमितको संख्या पाँच थियो । जसमध्ये दुई जनालाई निको भइसकेको थियो ।