मकवानपुरका स्थानीय सरकारले नै भिटिएम उपलब्ध गराउने

गुगलपाटी संवाददाता
२९ जेष्ठ २०७७ ०८:३४

हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन वार्डमा आज बिहीबारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने भिटिएमको अभाव हुने देखिएपछि मकवानपुरका स्थानीय सरकारले नै भिटिएम उपलब्ध गराउने भएका छन् । संघीय सरकारले उपलब्ध गराएको भिटिएम सकिने भएपछि मकवानपुर जिल्लाको बकैया गाउँपालिकाले २५ थान, बागमती गाउँपालिकाले १० थान, थाहा नगरपालिकाले १५ थान भिटिएम आइसोलेसन वार्डलाई उपलब्ध गराएको छ ।

कोरोना परिक्षण गर्न स्वाब संकलन गरी राख्ने भिटिएमको अभाव हुँदा परिक्षण नहुने भएपछि स्थानीय तहले भिटिएम उपलब्ध गराएको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले हेटौंडा अस्पताल र हेटौंडा अस्पतालले आइसोलेसनलाई उपलब्ध गराउँदै आएको भिटिएम सकिएपछि स्वाब संकलनमा समस्या आउने उहाँले जानकारी दिनुभयो ।

१० दिनसम्म भिटिएम उपलब्ध नहुँदा सबैको स्वाब संकलन गर्ने कार्य प्रभावित हुने उहाँको भनाइ छ । यसअघि आइसोलेसन वार्डलाई स्वास्थ्य कार्यालय मकवानपुरले पनि भिटिएम उपलब्ध गराएको थियो । हालसम्म हेटौंडाको आइसोलेसन वार्डमा मात्रै ६०३ वटा भिटिएम प्रयोग भएको इन्चार्ज चौलागाईले जानकारी दिनुभयो । आज बिहीबारदेखि आपूर्ति व्यवस्थापनले भिटिएम उपलब्ध नगराएसम्म स्थानीय तहले भिटिएम उपलब्ध गराए स्वाब संकलन हुने नत्र रोकिने इन्चार्ज चौलागाईले बताउनुभयो । भिटिएम उपलब्ध गराउने स्थानीय तहका नागरिकको मात्रै स्वाब संकलन हुने उहाँको भनाई छ ।

बुधबार हेटौंडा–४, कर्रा स्थित श्रमिक माविमा रहेको आइसोलेसन वार्डबाट ९ जनाको स्वाबको नमूना लिइएको छ । आइसोलेसनमा १७ जना रहेकोमा दिउँसो १४ जना डिस्चार्ज भएर ३ जना मात्र बाँकी रहेको उहाँले बताउनुभयो । हालसम्म हेटौंडा–४, मा रहेको आइसोलेसनबाट स्वाब संकलन गरेर हेटौंडाको कोरोना प्रयोगशालामा कोरोना परिक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अन्यको भने जिल्लाबाहिर परीक्षण गर्दा पोजेटिभ आएको इन्चार्ज चौलागाईले जानकारी दिनुभयो ।