कैलाश गाउँपालिकाले ६ वटा विद्यालयलाई पुस्तकालयको लागी ५० लाख रुपैया उपलब्ध
कुमारी स्याङ्बो मकवानपुरहेटौंडाः पुस्तकालय निर्माणका लागि कैलाश गाउँपालिकाले ६ वटा विद्यालयलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । संघीय सरकारबाट विद्यालय पुस्तकालय कार्यक्रम अन्तर्गत प्राप्त ५० लाख रकम कैलाश गाउँपालिका भित्रका ६ विद्यालयलाई दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले जानकारी दिनुभएको छ ।
बिहिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । उक्त रकम शिक्षा समितिमा विद्यालयहरुको प्रधानाध्यापकको बैठक बसेर विद्यालयकै खातामा सोझै पठाइने अध्यक्ष मुक्तानले जानकारी दिनुभयो । विद्यालय पुस्तकालयको कार्यविधि अनुरुप चालु आर्थिक वर्षमा खर्च हुने गरी गाउँपालिकाले ५ वटा माध्यमिक विद्यालय र एक आधारभूत विद्यालयलाई बजेट विनियोजन गरेको छ । गाउँपालिकाले नामटारको कालिका माविलाई १२ लाख, कालिकाटारको भवानी मावि, मादलसिंमा रहेको धुवाङ मावि, व्यास मावि र कमलादेवि माविलाई ९र९ लाख दिने निर्णय गाउँ कार्यपालिकाले गरेको छ । त्यस्तै रत्नज्योति आधारभूत विद्यालयलाई २ लाख उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले बताउनुभयो ।
कालिका माविमा कक्षा १२ सम्म पढाइ हुने र कृषि र पशु सम्बन्धी पनि पढाई हुने भएकोले केही बढी रकम उपलब्ध गराउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सो रकमबाट विद्यालयमा मावि तहका विषयगत पुस्तकका साथै अतिरिक्त सामानहरु पनि कार्यक्रम समावेश भएको छ । गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेका कारण विद्यालयहरुले आफ्नो खरिद प्रक्रिया सुरु गर्न सक्ने उहाँले बताउनुभयो । कैलाश गाउँपालिकामा दशजोड दुई तहको एउटासहित ६ वटा मावि छन् । कुल ४९ वटा विद्यालय रहेको कैलाश गाउँपालिकामा निजी विद्यालय छैनन् ।