हेटौंडा उपमहानगरका दुर्गम क्षेत्रमा रहेको १३ वटा विद्यालयका शिक्षकलाई भत्ताको व्यवस्था

गुगलपाटी संवाददाता
३१ जेष्ठ २०७७ ०६:४७

हेटौंडाः हेटौडा उपमहानगरपालिकाले उपमहानगरको दुर्गम क्षेत्रमा पढाउने शिक्षकलाई प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गरेको छ । गत आर्थिक वर्षदेखि नै उपमहानगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराइरहेको छ । उपमहानगरपालिकाको दुर्गम क्षेत्रमा रहेका १३ वटा विद्यालयमा कार्यरत ४० जना शिक्षकले मासिक १२ सय रुपैयाँ प्रोत्साहन भत्ता पाइरहेको उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत रामचन्द्र लामाले बताउनुभएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा ४ वटा विद्यालय, वडा नम्बर १५ मा दुई वटा विद्यालय, वडा नम्बर १६ मा एउटा विद्यालय, वडा नम्बर १७ मा दुईवटा विद्यालय, वडा नम्बर १८ मा दुईवटा विद्यालय र वडा नम्बर १९ मा दुई वटा विद्यालय दुर्गम क्षेत्रमा रहेका छन् । वडा नम्बर १ को बाँसघारीस्थित कालिका आधारभूत विद्यालय, नकौलीस्थित कालिका आधारभूत विद्यालय, कुवापानीस्थित गणेश आधारभूत विद्यालय र लेकपानीस्थित सरस्वती आधारभूत विद्यालय दुर्गम क्षेत्रमा रहेका छन् । वडा नम्बर १५ को चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालय र ज्ञानज्योति आधारभूत विद्यालय दुर्गम क्षेत्रमा रहेका छन् ।

यस्तै वडा नम्बर १६ को आकाशधारा पानीसारा आधारभूत विद्यालय, वडा नम्बर १७ को साजबोटेस्थित महादेव आधारभूत विद्यालय र डुमारेस्थित ज्वालादेवी आधारभूत विद्यालय, वडा नम्बर १८ को लालभित्तेस्थित कालिदेवी आधारभूत विद्यालय, शक्तिखोलस्थित वीपी आधारभूत विद्यालय, वडा नम्बर १९ को ज्यामिरेस्थित अरनिको आधारभूत विद्यालय र लेकपानीस्थित जीवनज्योति आधारभूत विद्यालय दुर्गम क्षेत्रमा रहेका छन् ।

उपमहानगरपालिका नै भए पनि दुर्गम क्षेत्रमा रहेका विद्यालयमा शिक्षकलाई टिकाउन, उनीहरुलाई प्रेरित गर्न दुर्गम भत्ताको व्यवस्था गरिएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले जानकारी दिनुभयो । निर्वाचित भएर आएपछि दुर्गम क्षेत्रको शिक्षामा सुधारका लागि प्रयास गरिएको उपमेयर लामाले बताउनुभयो ।