कुवेतबाट आएका मकवानपुरका ४ जना सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा पठाइयो
गुगलपाटी संवाददाताकुवेतबाट आएका मकवानपुरका ४ जना मकवानपुरको होल्डिङ सेन्टरमा आइपुगेका छन् । शुक्रबार हेटौंडा आइपुगेका बकैया–३ की सोममाया गोले, मनहरी गाउँपालिकाकी निर्मला खत्री र सुनमाया स्याङतान तथा राक्सिाराङ गाउँपालिकाकी संगीता लामालाई सम्बन्धित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा पठाइएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरु सबैलाई सम्बन्धित गाउँपालिकाले लगेको हो । अबको दुई तीन दिनमै मकवानपुरको होल्डिङ सेन्टरमा १ सय जना आउने भएका छन् । अहिले विदेशबाट आएका मकवानपुरका १८ जनामध्ये १४ जना काठमाडौंको विभिन्न क्वारेन्टाइनमा रहेको उहाँले बताउनुभयो । हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसमा अहिले २० बेडको होल्डिङ सेन्टर सञ्चालनमा छ । बिस्तारै ५० बेडसम्म थप गर्ने तयारी जिससले गरेको छ ।
होल्डिङ सेन्टरमा १ घन्टादेखि गाउँपालिकाले व्यवस्थापन नगरेसम्म आइपुगेका नागरिकहरुलाई राखिने फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाको नागरिकको हकमा भने होल्डिङ सेन्टरमा नआई सिधै उपमहानगरपालिकाले हेटौंडा–१०, गोरक्षेश्वरमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखिने बताइएको छ । होल्डिङ सेन्टरमा आउने सबै नागरिकहरुको अस्पतालमा स्वास्थ्य जाँच गरेर ल्याइने गरेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।