मकवानपुरको मनहरी गाँउपालिकामा स्वाव संकलन सुरु

गुगलपाटी संवाददाता
१ असार २०७७ ०७:४७

कोरोना संक्रमण भए, नभएको परीक्षणका लागि मकवानपुरको मनहरी गाउँपालिकामै स्वाब संकलन गर्ने कार्य सुरु भएको छ । गत बिहिबारदेखि पालिकामै स्वाब संकलन गर्ने व्यवस्था गरेको मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुईटेलले जानकारी दिनुभएको छ । मनहरी गाउँपालिकाले २ स्थानमा क्वारेन्टाइन सञ्चालन गरेको छ । पालिकाभन्दा बाहिर स्वेदश या विदेशबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर टेस्ट गराएर कोरोना संक्रमण नभएको अवस्थामा मात्रै घर पठाउने गरिएको सिनियर अहेव लुइटेलको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले स्वाब संकलन गर्न १५ वटा भिटिएम उपलब्ध गराएपछि मनहरीले पनि बिहिबारदेखि स्वाब संकलन गर्न सुरु गरेको हो । मनहरी गाउँपालिकाले पनि एक सय थान भिटिएम खरिद गरेको छ । मनहरी गाउँपालिकाले बिहिबार परीक्षणका लागि पठाएको ३ वटा स्वाबमा कोरोना संक्रमण नभएको पाइएपछि ती व्यक्तिलाई क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको छ ।

मनहरीबाट आइतबार २७ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि हेटौंडास्थित किटजन्य रोग नियन्त्रण प्रयोगशालामा पठाएको छ । मनहरी गाउँपालिकाले ३ नम्बर वडाको लामिटार र ७ नम्बर वडाको रमनटारमा क्वारेन्टाइन सञ्चालन गरेको छ । आज दुबै क्वारेन्टाइनमा गरेर ५० जना रहेका छन् । लामिटारमा २९ जना र रमनटारमा ३१ जना रहेका छन् । क्वारेन्टाइनमा रहेका मध्ये २ जना कुवेतबाट शनिबार मात्रै आइपुगेका दुई महिला छन् भने अन्य सबै भारतबाट आएका गाउँवासी रहेको सिनियर अहेव लुइटेलले बताउनुभयो । मनहरी गाउँपालिकाले विदेशमा रहेका पालिकाभित्रका नागरिकको लगत समेत संकलन गरेको छ । गाउँपालिकाको वडा कार्यालयलाई सम्बन्धित वडाको विवरण संकलन गर्न परिचालन गरेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती जानकारी दिनुभएको छ ।