बाइक किनेर पार्टी दिंदा साथीले नै ज्यान लिए
गुगलपाटी संवाददाताजेठ मसान्तको राति ३ बजे कास्की प्रहरीको १०० नम्बरमा एउटा फोन आयो । फोन गर्नेले भने, ‘हाम्रो साथी हरायो ।’ बिहानै प्रहरी पोखरा २९ पट्नेरी पुग्यो । फोन गर्नेहरुसँग भेट्यो । प्रहरी हराएका उनीहरुको साथी पनि खोज्दै थियो । प्रहरीले सेतीको खोंचमा २१ वर्षे अमित रसाइलीलाई मृत भेट्यो ।
तिनै फोन गर्ने र अरु ३ जनासमेत गरी ४ जनालाई सोधपुछ गर्दै जाँदा अमित मृत भेटिनुको रहस्य पत्ता लगाउन प्रहरीलाई धेरै समय लागेन । उनीहरुले घटनाक्रम खररै बताइहाले । भएको के रहेछ भने अमितले उनीहरुलाई नै पार्टी दिएका थिए । भर्खर २१ वर्ष पुगेका पट्नेरीका अमित रसाइलीलाई मोटरसाइकल किन्दा चौपट्टै खुसी लागेको थियो । त्यही मोटरसाइकल किनेको खुसी नै उनको जीवनको अन्त्यको कारण बन्छ भन्ने उनको कल्पनामा हुने कुरै भएन । त्यही खुसी साट्दा साथीभाइले उनको ज्यानै लिएका छन् ।
अल्लारे उमेरका उनीहरुको झगडाको कारण इगो ९ईष्र्या० समस्या भएको ठम्याइमा प्रहरी पुगेको छ । पटनेरीका उनीहरु पार्टी गर्ने भनेर सेतीनदीपारि भरतपोखरी बाघमारा पुगेका थिए । पोखरा ३३ बाघमाराको चौरमा लोकल रक्सी, चाउचाउ र चुरोट खाँदै गफ गर्दा उनीहरुबीच बाइकको प्रसंग चल्यो । कसको बाइक राम्रो, कसकी प्रेमिका राम्री भन्ने गफ गर्दागर्दै उनीहरु तँतँ र मममा उत्रिए । त्यतिमा मात्रै विवाद सीमित भएन साथीहरुले अमितलाई हेल्मेट र ढुंगाले टाउकामै हिर्काए । उनको ज्यान गयो ।
अमित मरेपछि शव लुकाउन उनीहरुले सेतीनदीको खोंचमा फालेको प्रहरीले पत्ता लगाएको छ । कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले सोमबार पत्रकार सम्मेलनमा बताएअनुसार रक्सीले मात्तिएपछि उनीहरुबीच कसको बाइक र प्रेमिका राम्रो भन्ने झगडा चर्किएको थियो । कास्की प्रहरीले अमित हत्याको आरोपमा उनका साथीहरु २० वर्षे मनीष श्रेष्ठ, २१ वर्षे सुनम गुरुङ, २१ वर्षका शंकर सुनार र उत्ति नै वर्षका कृष्ण सुनारलाई पक्रेर थप अनुसन्धान गरेको छ ।
अमितको शव आइतबार बिहान सेतीनदीको रातोपैह्रास्थित खोंचमा भेटिएको थियो । पक्राउ परेका सबै ४ जनालाई थुनामा राखी अनुसन्धान गर्न कास्की प्रहरीले कास्की अदालतबाट अनुमति लिइसकेको छ ।