छुटेको तथ्यांक सच्याएपछि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजारले बढ्यो
गुगलपाटी संवाददाताभारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी थपिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३ जना मृतक थपिएका छन् ।
तर ती सबै पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएका भने होइनन् । महाराष्ट्र र दिल्लीले मृतकको संख्या छुटेको भन्दै सच्याएपछि भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेको हो । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ ।
त्यस्तै भारतमा मंगलबार थप १० हजार ९ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ । त्यसमध्ये एक लाख ८४ हजार ९ सय ३४ जना निको भएका छन् । एक लाख ५५ हजार २ सय २७ जना भने उपचारका क्रममा रहेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा मृतकको संख्या एक हजार ३ सय २८ थपिएका छन् । मंगलबार महाराष्ट्रमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ मात्रै भए पनि पहिले छुटेको संख्या थपिएको अधिकारीहरुले बताएका छन् । योसँगै महाराष्ट्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय ३७ पुगेको छ । महाराष्ट्रमा संक्रमितको संख्या एक लाख १३ हजार ४ सय ४५ पुगेको भने करिब ५० हजार कोरोनामुक्त भएका छन् ।
त्यसैगरी दिल्ली सरकारले पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मिलान गरेको छ । दिल्लीमा कोरोना भाइरसबाट मृत्यु भएको तथ्यांकमा ३ सय ४४ जना थपिएका छन् । पहिले मृत्यु भएका तर तथ्यांकमा छुटेको संख्या अद्यावधिक गरिएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा भने दिल्लीमा ९३ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार ६ सय ८८ पुगेको छ । दिल्लीमा संक्रमण पुष्टि भएकामध्ये २६ हजार ३ सयभन्दा बढी निको भएका छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि आगामी रणनीति तय गर्न मंगलबार मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न २१ वटा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।
कोरोना संक्रमणका हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ ।
स्रोतः कान्तिपुर