सरसफाई सिक्दै न्यौपानेटार

कृष्ण सारु मगर मकवानपुरगढी
२० चैत्र २०७६ ०१:४८

मकवानपुरगढी–७ न्यौपानेटारमा घर वरिपरि र सडकमा फोहर देखिन्न ।
स्थानीय सुष्मा घिमिरे बाटोमा फोहर देखिए तुरुन्तै सफा गर्छन् । केही वर्ष अघिसम्म यहाँका स्थानीयले घर र घर वरिपरि सरसफाईमा खासै ध्यान दिँदैनथे । तर उनीहरुको आजभोली भने बिस्तारै आनीबानी परिवर्तन हुँदै गएको छ ।
उनीहरुले गाउँघर सरसफाईको लागि अभियान नै सञ्चालन गरेका छन् । ‘अब त हामीलाई घर र वरिपरि सरसफाई गर्ने बानी पर्न थालिसक्यो’, १५ वर्षीय सुष्मा भन्छिन्, ‘आफ्नो सरसफाई र घर वरिपरिको सरसफाईमा ध्यान दिनुपर्छ भनेर गाउँमा समय समयमा छलफल पनि हुने गरेको छ ।’
यो अभियानमा टोल विकास समितिले सक्रियता देखाएको छ । न्यौपानेटार टोल विकास समितिका सचिव सुर्य बहादुर भ्लोनले भने, ‘पहिला भन्दा सचेतना त धेरै भएको छ,तर हामीले अभियानै भने सञ्चालन गर्न सकेका छैनौं ।’ समितिले ४ महिना अघि सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘खेतीको सिजन भएकाले पनि हामीले अभियान नै सञ्चालन गर्न सकेका छैनौं,तर कोरोना भाइरसको त्रासले पनि सरसफाईमा भने सबैले ध्यान दिन थालेका छन् ।’
न्यौपानेटारकी सुनिता थिङ सरसफाईमा यस अघि खासै ध्यान दिँदैनथे । तर आजभोली भने उनी प्रत्येक बिहान पाँच बजे उठ्छिन्, नुहाएर पूजापाठ, घर आगनको लिपपोत, चर्पी र गाईगोठको सरसफाई गर्छिन् । प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोग र राडो नेपालको आर्थिक र सामाजिक सहयोगमा गाउँमा सरसफाई स्वच्छता सम्बन्धि अभियान सञ्चालन गरेपछि स्थानीयहरुको सरसफाई सम्बन्धि अबधारणा र दैनिक गतिबिधिमा परिवर्तन हुन थालेको हो ।

सरसफाईबारे अनुभव सुनाउँदै स्थानीय

यहाँका बृद्ध बृद्धा र युवाहरुमा मात्र होईन, बालवालिकाहरु पनि सरसफाईप्रति सचेत हुन थालेका छन् । गाउँमा सरसफाई सम्बन्धि गतिबिधि बढेपनि नकुहिने फोहर ब्यवस्थानमा भने समस्या रहेको छ । राडो नेपालकी स्थानीय प्रज्वलक गोमा घिमिरे भन्छिन्, ‘नकुहिने फोहर खोलाको बगरमा फाल्नुपर्ने बाध्यता छ,डम्पिङ साइट नहुँदा हामीलाई समस्या भयो ।’
डम्पिङ साइटको अभावसँगै यहाँ खानेपानीको पनि अभाव हुन थालेको छ । यहाँ रहेको ३० परिवारमध्ये गाउँको माथिल्लो क्षेत्रमा बस्नेहरुले मात्र पर्याप्त पानी उपयोग गर्न पाएका छन् । ‘पहिला खासै पानीको प्रयोग पनि गर्ने थिएन,अहिले पानीको मुहान पनि सुक्दै गएको छ’, घिमिरेले भनिन्, ‘अब गाउँमा सरसफाईको लागि पानीकै अभाव हुने होकी भन्ने चिन्ता लाग्न थालेको छ ।’
राडो नेपालले मकवानपुरगढी ७ सुकोरा र गढी ८ बुढिचौरमा सरसफाई तथा स्वच्छता सम्बन्धि अभियान सञ्चालन गरिरहेको छ । साथै सुकौरा र बुढिचौरमा महिनावारी स्वच्छता ब्यवस्थापनको लागि घरमै प्याड निर्माण कसरी गर्ने भन्नेबारे तालिम पनि दिइएको छ । दुई स्थानमा गरी तालिममा ३० जनाको सहभागिता रहेको प्रशिक्षक शान्तिप्रीय बन्दनाले बताइन् ।
प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा राडो नेपालले मकवानपुरगढी गाउँपालिका खुल्ला दिशामुक्त घोषणा भएपछि पुर्ण सरसफाईयुक्त गाउँ घोषणाको लागि काम अघि बढाएको हो । अघिल्लो वर्ष राडो नेपालले मकवानपुर गढी गाउँपालिका ३,४,५ र ६ नम्बर वडामा महिनावारी स्वच्छता सम्बन्धि कार्यक्रम पनि सञ्चालन गरेको थियो ।
राडो नेपालले गाउँपालिकासँगको सहकार्यमा खानेपानी योजनाको समेत काम गरिरहेको छ । बुढीचौर ८ रुपनारायण माविमा यस वर्ष खानेपानी योजनाको काम अघि बढाइएको राडो नेपालका समाजिक परिचालक सागर धितालले बताए । अघिल्लो वर्ष मकवानपुरगढीस्थित धरमचुलीमा खानेपनी योजना निर्माण गरिएको थियो ।

मकवानपुरगढी ७ न्यौपानेटार

तर गाउँपालिकाले भने सरसफाई अभियानमा खासै चासो दिन सकेको छैन । पुर्ण सरसफाईयुक्त गाउँ घोषणाको लागि गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति गठन गरिएको छ । उक्त समितिले खानेपानी तथा स्वच्छता सम्बन्धि पाँच वर्षे रणनीति बनाएर काम गर्ने योजना बनाएको छ । ‘हामीले यसतर्फ पनि योजनाबद्ध काम गर्नेछौं,सरसफाई हाम्रो प्राथमिकताको विषय हो ।’