सानैदेखि सरसफाइमा अब्बल
रिपेश दाहाल मकवानपुरगढीपहिलो पटक महिनावारी हुँदा सुनिता थिङलाई शाररिक पीडा मात्र थिएन, मनमा सयौं प्रश्नहरुको त्रास पनि थियो ।
एक हप्तासम्म विद्यालय जान नसकेकी उनी पहिलो पटक महिनावारी हुँदा घरमा समेत बस्न पाइनन् । आफन्तकोमा लगेर अध्याँरो कोठामा हप्तादिनसम्म राखियो । त्यो कष्टकर दुई वर्षअघिको पल अझैपनि उनले भुल्न सकेको छैन । मकवानपुरगढीस्थित सुकरौमा रहेको जनतामा माविमा कक्षा ७ को परीक्षा दिएर बसेकी १४ वर्षीय सुनिताले त्यसयता पनि महिनावारिको समयमा विद्यालय आउन सकिनन् ।
उनकी साथी शान्ती ब्लोनलाई पहिलो पटक महिनावारी हुँदा शाररिक पीडा त भयो । तर परिवार, समाज र विद्यालयको त्रास भएन । १३ वर्षीय शान्तीले महिनावारी भएको कुनै दिन पनि विद्यालय छाड्नुपरेको छैन ।
विद्यालयमा सेनेटरी प्याडको ब्यवस्था भएपनि उनीहरु शिक्षकलाई माग्न र प्रयोग गर्न लजाउँथे । माथिल्लो कक्षाका दिदीहरुसँग पनि खुलेर कुरा गर्न सक्दैनथे । तर उनीहरुले माथिल्लो कक्षाका दिदीहरुले बनाएको महिनावारी स्वच्छता ब्यवस्थापन समिति र दाई दिदीहरु बसेको ब्यक्तिगत सरसफाई समितिमा बस्ने,नयाँ कुरा सिक्ने निर्णय गरे । कक्षा ६ र ७ मा पढ्ने सुनिता र शान्तीसँगै ३० जना बढि छात्राहरु महिनावारी स्वच्छता ब्यवस्थापन समिति र सरसफाई समितिको बैठकमा नियमित बस्छन् ।
‘सुरुका बैठकहरुमा हामीलाई धेरै लाज लाग्थ्यो, महिनावारीको कुरा सुन्न,केही सोध्न पनि डर लाग्थ्यो’, सुनिताले भनिन्, ‘तर अहिले हामी यो बारेमा खुलेर कुरा गर्छौ ।’ उनीहरु महिनावारीको समयमा प्याड सहजै मागेर प्रयोग गर्न सक्छन् । ‘म त एक वर्षसम्म महिनावारीको समयमा विद्यालय आउन सकिन, तर यो समितिमा बसेर कुरा सुन्ने, बुझ्ने गरेपनि भने मलाई आफ्नो सरसफाई गर्न किन लाज मान्ने भन्ने लाग्यो’, सुनिताले भनिन्, ‘त्यसपछि म नियमित विद्यालय आउँछु ।’
उनले नै जोडबल गरेपछि शान्ती यो समिमिमा बसेकी थिइन् । उनले महिनावारी सुरु हुनु भन्दा पहिला नै यसबारे पर्याप्त जानकारी लिने अवसर पाइन् । ‘मैले आफुलाई महिनावारी सुरु भएपछि कसरी ब्यवस्थापन गर्ने भनेर आफुलाई तयार बनाइसकेकी थिएन’, शान्तीले भनिन्, ‘सबै कुरा बुझ्ने र खुलेर कुरा गर्न सक्ने भएकाले मलाई शाररिक पीडा बाहेक अन्य कुनै समस्या भएन ।’
महिनावारी हुने छात्राहरुमात्र हैन तत्लो कक्षाका विद्यार्थीहरुले पनि महिनावारी स्वच्छता ब्यवस्थापन र ब्यक्तिगत सरसफाईबारे पर्याप्त बुझ्ने अवसर पाएका छन् । उनीहरु समय समयमा भेला भएर यसबारे खुलेर छलफल गर्छन् ।
सरिना थिङ विद्यालयमा मात्र हैन घरमा पनि सरसफाइमा ध्यान दिन्छिन् । ११ वर्षीय सरिना कोही साथीहरु विद्यालयमा फोहर कपडा लाएर आएमा, नङ नकाटेको र अन्य सरसफाईमा ध्यान नदिएको पाइएमा सम्झाउन पुग्छिन् । उनले घरमा पनि हातधुने तरिका र घर सरसफाईको बारेमा आमा बुवालाई सिकाएकी छिन् । कक्षा ५ मा पढ्ने उनले महिनावारीको बारेमा पनि पर्याप्त सुनेकी र बुझेकी छिन् । ‘आफ्नो सरसफाई, विद्यालय र घरको सफाई गर्ने बानी नै परिसक्यो, अब दिदीहरुको कुरा सुन्ने र ब्यवहार हेर्दा मलाई महिनावारी भयो भने पनि सजिलै त्यसलाई ब्यवस्थापन गर्न सक्छुजस्तो लाग्छ’, उनले भनिन् ।
साविक सुकौरा गाविस र आमभञ्जाङका केही क्षेत्रका विद्यार्थी अध्ययन गर्ने जनता माविकी शिक्षिका सुजता लामाले छात्राहरुलाई परेको समस्याबारे सहजिकरण गर्दै आएकी छिन् । ‘पहिला जस्तो छैन, अहिले प्रया विद्यार्थीहरु आफ्नो सरसफाई र समस्याबारे खुलेर कुरा गर्छन्, विद्यार्थीहरुकै समुह बनाएर छलफल गर्न थालेपछि विद्यार्थीहरुको नियमित उपस्थित हुने दर पनि बढेको छ’,उनले भनिन् ।
प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोग र राडो नेपालको आर्थिक र सामाजिक सहयोगमा विद्यालयले विद्याथीहरुमाझ ब्यक्तिगत सरसफाई र महिनावारी स्वच्छता ब्यवस्थापनको काम गरिरहेको हो ।
विद्यालयमा छात्राहरु मात्र हैन गाउँघरमा महिलाहरु पनि महिनावारीको कुरा गर्न लजाउथे । महिनावारीको समयमा फोहर कपडा प्रयोगका कारण धेरै महिला बिरामी पनि भए ।
उक्त विद्यालय नजिकै रहेको न्यौपानेटारकी २४ वर्षीय कौशिला दाहाललाई सेनेटरी प्याडको प्रयोग र महिनावारी सरसफाई सम्बन्धि ज्ञान थिएन । उनी महिनावारीको समयमा कष्टकर दैनिकी बिताउँथे । तर उनी अहिले आफुना श्रीमान् र आफन्तसँग पनि खुलेर महिनावारी र ब्यक्तिगत सरसफाईको बारेमा कुरा गर्न सक्ने भएकी छिन् । उनी घरमा सेनेटरी प्याड सकिए श्रीमान बजार जाँदा लिएर आउन भन्छिन् ।
महिनावारी स्वच्छता ब्यवस्थापन समिति गठन भएपनि महिलाहरुले उक्त समुहमा बसेर ब्यक्तिगत सरसफाइको बारेमा छलफल गर्न थालेकी हुन् । उनीहरुले समुहको बैठकमा महिनावारी हुँदा कसरी सरसफाईमा ध्यान दिने, अझै पनि यसबारे खुलेर नबोल्ने र सरसफाइमा ध्यान नदिने महिलाहरुलाई कसरी सम्झाइ बुझाई गर्ने भन्नेबारे छलफल गर्छिन । ‘मनमा कुरा लुकाएर केही नहुने रहेछ, हामीले बोल्न र सल्लाह गर्न थालेपछि धेरे महिलाहरुले यसबारे बोल्न र आफ्नो सरसफाईमा ध्यान दिन थालेका छन्’, उनले भनिन् ।
प्ला नइन्टरनेशन नेपालको आर्थिक सहयोगमा राडो नेपालको अर्थिक र सामाजिक सहयोगमा गाउँका महिलाहरुले समिति बनाएर ब्यक्तिगत सरसफाईबारे खुलेर छलफल गर्न र आफ्नो सरसफाइमा ध्यान दिन थालेका हुन् । महिलाहरुबीच समन्वयको काम गरिरहेकी राडो नेपालकी स्थानीय प्रज्वलक गोम घिमिरे भन्छिन्, ‘पहिला त महिलाहरुलाई सम्झाउन नै गाह्रो थियो, तर छोरीहरुले विद्यालयमा पनि यही कुरा सिक्ने र आमाहरुलाई पनि गाउँमा सरसफाईबारे सिकाउने बुझाउन गर्दा सजिलो भयो ।’
न्यौपानेटारमा ३० परिवार बस्छन् । ती मध्ये कुनै घरको महिलासँग सेनेटरी प्याड सकिएमा वा कुनै शाररिक समस्या भएमा समुहमा अन्य साथीहरु सल्लाह गर्ने र माग्ने गछर्नन् । तर अझै पनि केही महिलाहरुलाई भने ब्यक्तिगत सरसफाईबारे बुझाउन नसकेको न्यौपानेले बताइन् । ‘हामीले प्रयास जति गरेपनि केही महिलाहरुले भने महिनावारीको समयमा फोहर कपडा प्रयोग गर्ने र बिभिन्न संस्कारको नाममा आफैलाई कष्ट दिने काम छाडेका छैनन्’, उनले भनिन्, ‘यसको लागि भने सरोकारवाला संघ संस्थाले पनि सहयोग गरिदिएहुन्थ्यो ।
राडो नेपालका सहजकर्ता सागर धितालका अनुसार राडो नेपालले यस क्षेत्रमा ब्यक्तिगत सरसफाईसँगै गाउँघरको सरसफाई र स्वच्छ खानेपानी बितरणको काम गर्दै आएको छ । ‘गाउँलेहरुको आवश्यकता र माग अनुसार हामीले स्वास्थ्य र सरसफाईको क्षेत्रमा थप कामहरु गर्दैजानेछौं’, उनले भने ।