हेटौंडा १२ मा झाडापखाला र ज्वरोको समस्या
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को कल्याणटारका समुदायमा झाडापखाला र ज्वरोको समस्या देखिएको छ । दुई दिनदेखि कल्याणटारका ३५ जनामा झाडापखाला र ज्वारोको समस्या देखिएको वडा सदस्य भुवन खनालले जानकारी दिनुभएको छ । स्थानीय मेडिकल तथा स्वास्थ्य चौकीमा उपचार गराए पनि निको हुन नसकेको खनालले बताउनुभयो ।
खानेपानी दुषित भएकाले मानिस विरामी भएको हुन सक्ने अनुमान गरिएको वडा अध्यक्ष ललित घलानले जानकारी दिनुभयो । कल्याणटारमा झाडापखाला देखिएको विषयमा जानकारी प्राप्त नभएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा स्वास्थ्य शाखाका प्रमुख रमन झाले बताउनुभएको छ । वडा अध्यक्ष घलानले पनि समस्याका बारेमा नगरको स्वास्थ्य शाखालाई जानकारी नगराएको बताउनुभयो । कल्याणटार खानेपानी आयोजनाबाट वितरण भएको पानी स्थानीय ७० घरधुरीले प्रयोग गर्दै आएका छन् ।
पानीकै कारण मानिस विरामी परेका भन्दै पानी परिक्षणका लागि स्थानीयले अनुरोध पनि गरेका छन् । उपचारका लागि हेटौंडा आउन पनि कुख्रेनीमा पुल नभएले वस्तिपुर वा लामसुरे धाप पुग्नुपर्ने भन्दै स्थानीयहरु चिन्तित भएका वडा सदस्य खनालले बताउनुभएको छ ।