हेटौंडा ११ का विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास
गुगलपाटी संवाददाताहेटौंडा–११, डाङडुङेस्थित आनन्द भैरव आधारभूत विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास भएको छ । लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द रहेका बेला बिहिबारदेखि विद्यालयले कक्षा ७ र ८ को पठनपाठन सुचारु गर्ने प्रयास गरेको प्रधानाध्यापक कृष्ण खनालले जानकारी दिनुभएको छ ।
सरोकारवालासँग समन्वय गरेर विद्यालयमा बालबालिकाबीच भौतिक दुरी कायम गरेर पठनपाठनको प्रयास भएको प्रधानाध्यापक खनालले बताउनुभयो । पहिलो दिन आज कक्षा ७ का २० जना विद्यार्थी मध्ये १० जना मात्रै हाजिर भएका छन् भने कक्षा ८ का १७ जना विद्यार्थी मध्ये ७ जना मात्रै हाजिर भएका छन् । आज सामाजिक, नेपाली, विज्ञान, पेशा व्यवसा र स्वास्थ्य तथा जनसंख्या विषयको पठनपाठन गरिएको उहाँले बताउनुभयो ।
सबै विद्यार्थीलाई विद्यालयमा बोलाएर व्यवस्थापन गर्न सहज नहुने भएकोले माथिल्लो कक्षालाई मात्रै बोलाइएको र सबै कक्षा सञ्चालन गर्न के गर्न सकिन्छ भनेर थप योजना बनाइने पनि प्रधानाध्यापक खनालले बताउनुभयो । विद्यालयका केही शिक्षकहरु २ नम्बर प्रदेशस्थित घर जानुभएकोले शिक्षक व्यवस्थापनमा पनि समस्या हुने देखिएको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको शिक्षा शाखा, वडाका प्रतिनिधिसँग समेत छलफल गरेर पठनपाठन सुचारु गर्ने प्रयास भएको हो । पठनपाठन सुचारु गर्नुअघि विद्यालयले बालबालिकालाई मास्क पनि वितरण गरेको छ ।