दुग्ध उत्पादक किसानलाई प्रदेश सरकारबाट प्राप्त अनुदान रकम वितरण
गुगलपाटी संवाददाताहेटौंडा–११ स्थित क्षीरसागर दुग्ध उत्पादक सहकारी संस्थाल लिमिटेडले दुग्ध उत्पादक किसानलाई प्रदेश सरकारबाट प्राप्त अनुदान रकम वितरण गरेको छ । प्रदेश सरकारले प्रदान गरेको अनुदान रकम शुक्रबार एक कार्यक्रमका बीच किसानलाई वितरण गरिएको हो ।
सहकारीका व्यवस्थापक देवकुमार श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा विक्री गरिएको दुधका आधारमा बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट प्राप्त १ लाख ७३ हजार रुपैयाँ किसानलाई वितरण गरिएको छ । प्रतिलिटर एक रुपैयाँका दरले प्राप्त अनुदान रकम वितरण गरिएको हो । सहकारीमा आवद्ध ९० जना किसानलाई अनुदान रकम वितरण गरिएको छ ।
अनुदानवापत एकजना किसानले ५ सय रुपैयाँदेखि ९ हजार ४ सय रुपैयाँसम्म प्राप्त गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का सदस्य रामचन्द्र न्यौपानेको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा अनुदान रकम वितरण कार्यक्रम भएको हो ।