दोहोर्‍याएर परीक्षण गर्दा माडीमा भेटिए चार संक्रमित

गुगलपाटी संवाददाता
८ असार २०७७ ०८:५६

चितवन — माडी नगरपालिकामा सोमबार चारजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दस दिनअघि पनि पीसीआर परीक्षण गर्दा संक्रमण नदेखिएका उनीहरुलाई दोहर्‍याएर पीसीआर गर्दा यो पटक संक्रमण देखिएको हो ।

उनीहरु माडी रमाइलो डाँडाको दिवाकर स्मृति विद्यालयको क्वरोन्टाइनमा बसेका पुरुषहरु हुन् । उक्त क्वारेन्टाइनमा बसेका आठजनालाई जेठ ३० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
अहिले संक्रमण देखिएका चार जनालाई त्यो बेला गरेको परीक्षणमा संक्रमण नदेखिएको माडी नगरपालिकाका नगर स्वास्थ्य संयोजक शिवप्रसाद सुवेदीले बताए । उक्त क्वारेन्टाइनमा ४९ जना बस्न आएका थिए । दुई जनालाई ज्वरो देखिएपछि उपचारका लागि भरतपुर पठाइएको थियो । एक जनाको मृत्यु भइसकेको छ भने अर्को एक जना निको भए । तर उनीहरुमा संक्रमण देखिएन ।

बाँकी रहेका ४७ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा जेठ ३० मा आठ जनामा संक्रमण देखियो । त्यो बेला संक्रमण नदेखिएकामध्ये एकजनालाई आरडीटी गर्दा एन्टिबडी देखियो । त्यसपछि उनीसमेत गरी सम्पर्कमा रहेका १२ जनाको शुक्रबार स्वाब संकलन गरेर परीक्षण गर्दा चार जनामा कोरोना देखिएको हो । क्वारेन्टाइनमा अझै २७ जना छन् । उनीहरुलाई पनि स्वाब निकालेर पीसीआर परीक्षण गर्ने स्वास्थ्य संयोजक सुवेदीले जानकारी दिए ।

माडी नगरपालिकाका सूचना अधिकारी प्रविन भण्डारीका अनुसार माडीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ पुगेको छ । यसअघि संक्रमण देखिएकामध्ये सातजना माडी क्याम्पसकै आइसोलेसनमा चिकित्सकको निगरानीमा छन् । सोमबार ९आज० संक्रमित देखिएका चार जनालाई पनि सोही ठाउँमा राख्ने भण्डारीले जानकारी दिए । सात जना भरतपुरको सरकारी अस्पतालको आइसोलेसनमा चिकित्सकको निगरानीमा छन् ।

भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । सोमबार माडीसहित भरतपुर महानगरपालिका–२८ का एक जना पुरुषमा पनि संक्रमण देखिएको छ । यो सहित चितवनमा कूल संक्रमितको संख्या ४२ पुगेको छ । जसमध्ये निको भएर पाँच जना घर फर्केका छन् । मृत्यु हुने एक जना ६८ वर्षीय वृद्ध थिए ।