विश्वज्योति विद्यालयमा पाठनपाठन सुरु

गुगलपाटी संवाददाता
८ असार २०७७ ०९:०८

हेटौंडा उपमहानगरका ग्रामीण क्षेत्रमा रहेका विद्यालयले क्रमशः पठनपाठन सुचारु गर्न थालेका छन् । गत साता हेटौंडा–११, डाङडुङेस्थित आनन्दभैरव आधारभूत विद्यालयले भौतिक दुरी कायम गरी कक्षा ७ र ८ को पठनपाठन सुरु गरेको देखेर हेटौंडा–१५, चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयले पनि आइतबारबाट पठनपाठन सुचारु गरेको छ । कोरोना भाइरसको जोखिमबारे सतर्क रहेर क्रमशः पठनपाठन सुचारु गर्न विश्वज्योति आधारभूत विद्यालयले एउटा कक्षाको सातामा दुईदिन पठनपाठन गर्ने गरी तालिका बनाएको छ ।

विद्यालयले तयार पारेको कक्षा सञ्चालन तालिका ।
विश्वज्योतिले आइतबारबाट पठनपाठन सुरु गर्दा कक्षा २ र ३ का विद्यार्थीलाई बोलाएको थियो । कक्षा २ का कुल २६ जना विद्यार्थी मध्ये आइतबार १५ जना उपस्थित भएको र कक्षा ३ मा कुल विद्यार्थी २७ जना मध्ये १२ जना उपस्थित भएको शिक्षक दामोदर कुईकेलले जानकारी दिनुभएको छ । वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित अभिभावकसँग सल्लाह गरेर पठनपाठन सुचारु गरिएको उहाँको भनाइ छ । विश्वज्योतिले आज सोमबार कक्षा ४ र ५ को पठनपाठन गर्नेछ भने भोलि मंगलबार कक्षा ६ र ७ को पठनपाठन गर्नेछ । यसैगरी बुधबार कक्षा १ र ८ को पठनपाठन गर्नेछ ।

पठनपाठन सुचारु गर्दा विद्यार्थी बीच भौतिक दुरी कायम गरिएको बताइएको छ । साताको दुईदिन मात्रै पठनपाठन सुचारु गर्दा पनि विद्यार्थीलाई धेरै राहत हुने अपेक्षा विद्यालयको छ । हेटौंडा उपमहानगरकै दुर्गम क्षेत्रको रुपमा रहेको चिप्लेटी पुग्न अहिले पनि प्रमुख मार्गको रुपमा प्रदेश २ को बारा जिल्ला हुँदै जानुपर्छ । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा २३० जना विद्यार्थी अध्ययनरत छन् ।