हेटौंडाको बजेट २ अर्ब ८ करोड

गुगलपाटी संवाददाता
१० असार २०७७ ०७:१६

हेटौंडाः बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी वर्ष २०७७र७८ को लागि २ अरब ८ करोड ६५ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभामा आज उपमेयर मिनाकुमारी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्नुभएको हो ।

आगामी आर्थिक वर्षमा हेटौंडा उपमहानगरले कोरोना रोकथाम तथा नियन्त्रण र विपद व्यवस्थपन गर्न २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै हेटौंडा उपमहानगरपाकिलो आगामी वर्षमा कोरोनाले प्रभाव पारेका विद्यालयका बालबालिकाहरुलाई कोरोना भाइरसले उत्पन्न भयलाई न्यूनिकरण गर्न मनोपरामर्श कार्यक्रमलाई जोड दिएको छ ।

त्यस्तै चालु वर्षबाट सुरु गरिएको सिमान्तकृत, लोपोन्मुख र आर्थिक रुपमा विपन्न परिवारको निशुल्क १ लाखको स्वास्थ्य बिमा आगामी वर्ष ३ सय परिवारलाई गर्ने भएको छ । त्यस्तै नगरक्षेत्रका गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिने भएको उपमेयर लामाले बताउनुभयो ।