चट्याङ लागेर दुईको मृत्यु

गुगलपाटी संवाददाता
११ असार २०७७ ०९:११

मकवानपुरमा बुधबार राति चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर जिल्लाको बकैया गाउँपालिका २ कालापानीका १७ वर्षीय सम्झना घिसिङ र २६ वर्षीया बिना घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार, चट्याङ लागेर सम्झनाको घटनास्थलमै र बिनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै चट्याङ लागेर स्थानीय १४ वर्षीय किरण जिम्बा भने घाइते भएका छन् । उनको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

उनीहरुलाई घरमै बसिररहेको बेला वर्षासँगै परेको चट्याङ लागेको थियो ।

मृतक र घाइते तीनै जना छुट्टाछ्ट्टै परिवारका हुन् ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।