मकवानपुरका पालिकाहरू आन्तरिक आयमा कमजोर
गुगलपाटी संवाददातामकवानपुरका स्थानीय तह आन्तरिक आम्दानीमा कमजोर देखिएका छन् । यहाँका १० वटै पालिकाले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटबाटै यसको पुष्टि हुन्छ ।
बजेटको आकार बढाए पनि अधिकारप्राप्त यी स्थानीय सरकारको स्रोतमा परनिर्भरता कायमै छ । पालिकाहरूले केही निश्चित आन्तरिक आम्दानीबाहेक प्रदेश र संघीय सरकारको अनुदानकै भरमा बजेट ल्याएका छन् ।
मकवानपुरका सबै स्थानीय तहको आन्तरिक आयको हिस्सा कुल आम्दानीको बढीमा १० प्रतिशत हाराहारी मात्र छ । करको अधिकार प्रदेश सरकारसँगभन्दा बढी भए पनि पालिकाहरूले आन्तरिक स्रोत बढाउन सकेका छैनन् । अधिकांशले राजस्व सुधार कार्ययोजना नै बनाएका छैनन् ।
हेटौंडा उपमहानगरपालिकाले आगामी वर्षका लागि २ अर्ब ८ करोड ६६ लाख रुपैयाँको बजेट सार्वजनिक गर्यो जुन चालु आवको तुलनामा २७ करोड ४८ लाख रुपैयाँले बढी हो । तर, उपमहानगरले आगामी वर्ष आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ मात्रै राजस्व संकलनको लक्ष्य लिएको छ । उपमहानगरले एकीकृत सम्पत्ति कर, पटके सवारी कर, नक्सापास दस्तुर, भाडा तथा बहाललाई आफ्नो प्रमुख करको स्रोतका रूपमा लिएको छ ।
८० करोड ५६ लाख ३३ हजार रुपैयाँबराबरको बजेट ल्याएको थाहा नगरपालिकाले पनि आन्तरिक आम्दानी ५ करोड १५ लाख ६० हजार रुपैयाँ मात्र हुने प्रक्षेपण गरेको छ । तुलनात्मक रूपमा मनहरी गाउँपालिकाले आन्तरिक आम्दानी अलि बढी देखिएको छ । आगामी वर्षका लागि ७६ करोड १३ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको उक्त गाउँपालिकाले आन्तरिक आम्दानी २५ करोड ४५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
६५ करोड १९ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको बकैया गाउँपालिकाको आन्तरिक आयस्रोत अनुमानित ६ करोड ८२ लाख ६० हजार रुपैयाँ मात्रै छ । मकवानपुरगढी गाउँपालिकाले पनि ५९ करोड ७५ लाख ७ हजारको बजेट बनाएकोमा आन्तरिक स्रोतको अवस्था नाजुकै छ । आगामी वर्ष आन्तरिक आम्दानीतर्फ २ करोड ९१ लाख ३० हजार मात्र प्राप्त हुने त्यहाँको बजेटमा उल्लेख छ ।
विकट राक्सिराङ गाउँपालिकामा चालू वर्षको तुलनामा आन्तरिक राजस्व वृद्धि हुने अनुमान गरिए पनि बजेटमा संघ र प्रदेश सरकारकै अनुदानको भर देखिन्छ । ५६ करोड ८७ लाख रुपैयाँको बजेट बनाएको भीमफेदी गाउँपालिकाको पनि आन्तरिक स्रोत कमजोर छ । कैलाश र इन्द्रसरोवर गाउँपालिकाले बजेटको खाका प्रस्तुत गरे पनि राजस्व आम्दानी र क्षेत्रगत विनियोजन तयार गरिसकेका छैनन् । वाग्मती गाउँपालिकाले असार २० गते मात्रै गाउँसभा गर्ने र बजेट पेस गरिने जनाएको छ ।