हेटौंडाका सबै वडामा आधारभुत स्वास्थ्य सेवा

गुगलपाटी संवाददाता
१४ असार २०७७ ०७:२६

हेटौंडा उपमहानगरपालिकाको सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । स्थानीय नागरिकलाई आफ्नै टोलमा स्वास्थ्य सेवा दिने उदेस्यले स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । नगरमा स्वास्थ्य सेवा विस्तार गर्ने नीति अनुरुप चालु आर्थिक वर्षमा हेटौंडाको वडा नम्बर २,४,५,१०,१२,१६ र १९ मा सेवा बिस्तार भई काम सुरु गरिएको छ । अरु वडामा भने अघिल्लो आर्थिक वर्षबाट स्वास्थ्य सेवा दिन सुरु गरिएको थियो ।

अहिले उपमहानगरपालिकाका सबै वडाहरुमा स्वास्थ्य संस्था संचालन गरिएको र स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज भएको मेय महतले वताउनुभयो । स्वास्थ्य संस्थाबाट प्रबाह गरिने सेवा विस्तार गर्न, प्रभावकारी र दिगो बनाउन स्वास्थ्य संस्थाहरुको छुट्टै भवन निर्माणको कार्य अघि बढाइएको उहाँले वताउनुभयो । हेटौंडाको वडा नंम्बर १, १२, १४, १६, १८ र १९ मा स्वास्थ्य संस्थाहरुको निर्माण कार्य चालु बर्ष भित्र नै सम्पन्न हुने अवस्थामा रहेको मेयर महतले वताउनुभयो ।

स्वस्थ्य र सुसंगठित शरीर निर्माणका लागि एक वडा एक जिम क्लवको अवधारणा बमोजिम चालु आर्थिक वर्षमा वडा नंम्बर ५ र ९ मा जिम क्लवका लागि सामग्री सहयोग गरिएको छ । अरु स्थानमा पनि जिम क्लवका सामाग्री वितरण गरिएको छ । खेलमैदान पूर्वाधार सुधार र राष्ट्रपति रनिङ्ग शिल्ड खेल प्रतियोगिताको आयोजना लगायत विभिन्न खेल प्रतियोगिताहरु आयोजनामा सहयोग एवं सहकार्य गरिएको मेयर महतले वताउनुभयो । साग गेममा पदक विजेता विभिन्न विधाका १४ खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्वाधार निर्माणका लागि यस आर्थिक वर्षमा ३० लाख सहयोग उपलब्ध गराइएको छ । यस उपमहानगरपालिका समेतको समन्वय र सहयोगमा हेटौंडा अस्पतालबाट मृगौला डायलासिस सेवा संचालनका लागि आवश्यक तयारी करीव पूरा भएको अवस्थामा रहेको मेयर महतले वताउनुभयो । यो सेवा हालसम्म शुरु भैसक्नुपर्ने अवस्था भएकोमा कोराना भाइरसको प्रभावका कारण केही प्राविधिक काम हुन नसकेको हुँदा अवस्था सहज हुनासाथ सञ्चालन हुने अवस्थामा पुगेको छ ।

नगर क्षेत्रभित्रका अति विपन्न, सिमान्तकृत समुदायका परिवारहरुको स्वास्थ्य विमाको लागि कार्यविधि स्वीकृत भई मापदण्ड बमोजिम छनौंट भएका २ सय ५५ परिवारको स्वास्थ्य विमा गर्ने कार्य सम्पन्न भएको छ । सुत्केरी महिलाको स्वास्थ्यलाई मध्यनजर गरी जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहितको टोलीबाट घरभेट कार्यक्रम मार्फत सुत्केरी महिलाको स्वास्थ्य जाँच र पोषणयुक्त कोशेली प्रदान गर्ने कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ८ सय १० जना सुत्केरीसंग भेटघाट गरिएको छ ।

विभिन्न किसिमका दीर्घ रोगबाट थलिएर बसेका बिरामीहरुलाई नियमित रुपमा घरदैलोमा गई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने कार्यक्रम प्यालिएटिभ केयर संचालन गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सम्झौता भई हालै प्रतिष्ठानबाट यस उपमहानगरपालिकाका ४ जना स्वास्थ्यकर्मीले आवश्यक तालीम लिएर आएको र तत्कालै सेवा सञ्चालनको लागि आवश्यक तयारी भैरहेको छ ।