थप १७९ जना डिस्चार्ज, निको हुनेको संख्या ३ हजार १३ पुग्यो

गुगलपाटी संवाददाता
१४ असार २०७७ १२:००

पछिल्लो २४ घण्टामा थप १ सय ७९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ३ हजार १३ पुगेको छ ।

निको हुनेहरु १ सय ७९मध्ये १३ महिला र १६६ पुरुष छन् ।

यसरी डिस्चार्ज हुनेहरुमा बिर्ता पुलिस एकडेमी आइसोलेसन सेन्टर रौटहटबाट ४६, कोभिड १९ अस्पताल धनुषाबाट ११, नारायणी अस्पताल पर्साबाट २८, जलेश्वर अस्पताल महोत्तरीबाट ३, साइकृष्ण अस्पताल सप्तरीबाट १६, कोरोना विशेष अस्पताल दाङबाट ३९, सिरहा अस्पतालबाट ६, महेन्द्र जनरल अस्पतालबाट सिरहाबाट १३ र कलैया अस्पताल बाराबाट १७ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९६ हजार ७६६ नमुना परीक्षण भएका छन् । २४ घण्टामा २ हजार ७३२ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख १५ हजार ८३९ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ४ हजार ९६२ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६१ हजार ७३१ जना रहेका छन् ।त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ७३१ जना रहेको छ ।