संस्थागत विद्यालय शिक्षक यूनियनले ज्ञापनपत्र बुझाए
गुगलपाटी संवाददातासंस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) ले हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरमा बुधबार ज्ञापनपत्र बुझाएको छ । कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिमा पनि संस्थागत विद्यालयका शिक्षक, कर्मचारीहरुले अनलाइन कक्षालगायत अन्य तोकिएको कार्य नियमित रुपमा गर्दै आइरहँदा समेत पूर्वनिर्धारित तलब, सेवासुविधा नपाएको भन्दै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई ज्ञापनपत्र बुझाएको हो । हेटौंडा उपमहानगरपालिकामा इस्टुको उपमहानगर समितिले र जिल्ला समन्वय समितिमा इस्टुको जिल्ला समितिले ज्ञापनपत्र बुझाएको हो ।
इस्टु हेटौंडा उपमहानगर समितिका अध्यक्ष सीएम रिमालले ६ बुँदे मागसहितको ज्ञापनपत्र प्रस्तुत गर्दै बुझाउनुभएको हो । ज्ञापनपत्र बुझ्दै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर लामाले कोरोना कहरले भन्दा नि अहिले भोकमरीको अवस्था सिर्जना भएको बताउनुभयो । ‘कोरोनाले गर्दा हेटौंडा उपमहानगरपालिकाको अनावश्यक खर्च बढेको छ,’ उहाँले भन्नुभयो, ‘विदेशबाट आउनु भएकालाई क्वारेन्टाइनमा राख्नका लागि क्वारेन्टाइन निर्माण भएको छ ।’ कोरोनाले गर्दा हेटौंडा उपमहानगरपालिकाको आर्थिक अवस्थामा १० प्रतिशतले कमि आएको उहाँको भनाइ छ ।
यसैगरी इस्टु मकवानपुरका अध्यक्ष सचिन लामाले ६ बुँदे माग प्रस्तुत गर्दै बुधबार जिल्ला समन्वय समिति ९जिसस० का प्रमुख रघुनाथ खुलाललाई ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख खुलालले इस्टुको समस्यालाई लिएर समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ । इस्टुले आफ्नो मागलाई लिएर प्याव्सन मकवानपुर, शिक्षा विकास तथा समन्वय इकाई, शिक्षक महासङ्घ नगर कार्य समिति मकवानपुर लगायतलाई ध्यानाकर्षणपत्र बुझाइसकेको इस्टु नगर अध्यक्ष सिएम रिमालले जानकारी दिनुभएको छ । कार्यक्रममा जिल्ला र नगरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।